खेलकुद

महानगर कप महिला तथा पुरुष भलिबल आजबाट

काठमाडौं । आजबाट महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सुरु हुने भएको छ । जवालाखेलस्थित जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा आज शनिबारबाट सुरु हुने प्रतियोगिताको खेल तालिका हिजो सार्वजनिक गरिएको थियो ।

आज दिउसो २ बजे हुने उद्घाटन खेलमा अयोजक ललितपुर महानगरपालिका र चन्द्रागिरी नगरपालिकाबीच खेल हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फको खेल हुने भएको हो । यस्तै महिलातर्फको बिहान ८ बजे हुने खेलमा बनेपा नगरपालिका र गुप्तेश्वर नगरपालिकाबीच खेल हुनेछ ।

पुरुषतर्फ पहिलो दिन शनिबार तीन खेल हुनेछ । बिहान ८ बजे हुने पहिलो खेलमा ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाबीच खेल हुनेछ । १० बजे हुने दोस्रो खेलमा किर्तिपुर नगरपालिका र कागेश्वरी नगरपालिकाबीच खेल हुनेछ । यस्तै १० बजे नै हुने अर्को खेलमा धुलिखेल नगरपालिका र गोदावरी नगरपालिकाबीच खेल हुनेछ । ललितपुर महानगरपालिकाको आयोजना हुने प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमको सहभागिता रहेको छ ।

ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा हुने प्रतियोगितामा प्रदेश ३ को महानगर, नगरपालिका, उपमहानगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विभागीय टिम र राष्ट्रिय टिमबाट खेलेका खेलाडीले भने सहभागिता जनाउन पाउने छैनन् ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५र१५ हजार पाउने छन् । यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५र५ हजार पाउने छन् ।

प्रतियोगितामा महिलातर्फ ललितपुर महानगरपालिका, बनेपा नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरी नगरपालिका, हेटौडा उपमहानगरपालिका,गुप्तेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र विदुर नगरपालिका रहेका छन् ।

पुरुषतर्फ ललितपुर महानगरपालिका, बनेपा नगरपालिका, टोखा नगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, पनौती नगरपालिका,धुलिखेल नगरपालिका, भक्तपुर नगरपालिका, किर्तिपुर नगरपालिका, कमला माइ नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, चौतारा साँगा नगरपालिका र गोकर्णेश्वर नगरपालिका रहेका छन् ।