पर्यटन/संस्कृति

जमैकाका पर्यटनमन्त्री बार्टलेट धरहरा, वसन्तपुर र रानीपोखरीमा..

काठमाडौं । जमैकाका पर्यटनमन्त्री एडमण्ड बार्टलेटले भूकम्पले क्षति भई पुनःनिर्माण भइरहेका काठामाडौँका विभिन्न स्थानका सम्पदाको अवलोकन भ्रमण गरेका छन् ।

धरहरा, वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्र, दरबार हाइस्कूल, रानीपोखरी, त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको अवलोकन गरी उनले नेपालका सम्पदा पुनःनिर्माणबारे जानकारी लिनु भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए ।

मन्त्री बार्टलेटले चासोका साथ पाँच सम्पदा स्थलको भ्रमण गरी पर्यटन प्रवद्धनमा दुई देशबीच सहकार्य गर्ने योजना अघि बढाउने प्रतिबद्धता जनाभएको उनले सुनाए । अवलोकनका क्रममा मन्त्री बार्टलेटले अझ बलियो र सुरक्षित पुनःनिर्माण हुनुपर्नेमा जोड दिए ।

नेपालमा भइरहेको पुनःनिर्माणका कामबाट आफू प्रभावित भएको र सम्पदा पुनःनिर्माणका क्रममा मौलिकता जोगाउँदा त्यसले पर्यटनमा सकरात्मक प्रभाव पार्ने उनको प्रतिक्रिया थियो । अवलोकन भ्रमणपछि मन्त्री बार्टलेटले नेपालको पुनःनिर्माण अनुकरणीय भएको प्रतिक्रिया दिए । उनीनेपाल भ्रमण वर्ष–२०२० को उद्घाटन समारोहमा सहभागी हुन नेपाल आएका हुन् ।