आर्थिक

चेम्बरको प्रतिनिधीसँगको भेटमा मन्त्री भट्टले भने, ‘पाँच महिनामा निकासीको तथ्याङ्क उत्साहप्रद’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यावसायिक क्षेत्रमा देखा परेका समस्याको क्रमिक समाधान गर्न आफू र मन्त्रालय सधैँ कटीबद्ध रहेको बताएका छन् ।

उनले निजी क्षेत्रसँग सहकार्य गरी परिणाममूलक नतिजा निकाल्न आफू तत्पर रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधी मण्डलसँगको भेटमा मन्त्री भट्टले चालु आर्थिक वर्षको ५ महिनामा निकासीको तथ्याङ्क उत्साहप्रद रहेको उल्लेख गरे।

उनले व्यापार घाटा न्यूनीकरण गर्न तथा निर्यातयोग्य वस्तुको देशगत एवं वस्तुगत रुपमा विविधिकरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै वस्तुको उत्पादनदेखि निकासीलाई बजार तहसम्म प्रर्वद्धनात्मक गतिविधि अगाडि बढाई निकासी वृद्धि गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।

चेम्बरको तर्फबाट वधाई तथा कार्यकालको शुभकामना दिँदै अध्यक्ष राजेशकाजी श्रेष्ठले औद्योगिक व्यावसायिक ऐनले दिएको सुविधा सहुलियत आर्थिक ऐनले काट्न नहुने बताउँदै स्थानीय कर र अन्य करको चाप बढ्दा व्यवसायको वातावरण बन्न नसक्ने बताए । चेम्बरले व्यापार प्रवद्र्धनका लागि प्रक्रिया कम झन्झटिलो बनाउनुपर्ने, वैदेशिक लगानी आकर्षित गर्दा स्वदेशमा उपलब्ध श्रोत र साधनको परिचालन हुने गरी लगानी बढाउन प्रोत्साहित गर्नुपर्ने र आपूर्ति व्यवस्थापनमा सरल, सहज र नियमित आपूर्ति व्यवस्था गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरे ।