समाचार

राष्ट्रिय भवन संहिताको परिमार्जन कति आवश्यक ?

काठमाडौं । राष्ट्रिय भवन संहिता–१०५ लाई मौलिकरूपमा परिमार्जन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ ।

वि. सं २०७२ वैशाखको भूकम्प र त्यसपछि पटक–पटकको परकम्पका कारण निजी तथा सार्वजनिक भवनमा ठूलो क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता १०५ परिमार्जन गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो ।

प्राधिकरणको सक्रियतामा शहरी विकास मन्त्रालयका सचिव नेतृत्वको भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको हालैको बैठकले परिमार्जित संहिता पारित गरेको एकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिए । संहिता परिमार्जन भएसँगै अब नेपालको आफ्नै मौलिक भवन संहिता बनेको उनले बताए ।

यसअघि राष्ट्रिय भवन संहिता भारतलगायत देशले निर्माण गरेको आधारमा बनाइएको थियो । परिमार्जित संहिताअनुसार डिजाइन निर्देशिका बन्नेछ । निर्देशिकाका आधारमा मात्र भवनका डिजाइन तथा निर्माण गर्नुपर्नेछ ।

नेपालको भूकम्पीय जोखिम, भौगालिक तथा माटोको अवस्था आदिलाई पर्याप्त ध्यान दिएर संहिता परिमार्जन गरिएको एकाइ (भवन) का आयोजना निर्देशक प्याकुरेलले बताए । “यो पूर्णतः नेपालमा रहेको भूकम्पीय जोखिमको विश्लेषण गरेर तयार गरिएको भवन संहिता हो, हामीले भूकम्पपछिको पुनःनिर्माणका क्रममा बलियो संरचना मात्र बनाएनौँ, त्यसको संहिता पनि परिमार्जन गरेका छौँ”, उनले भने ।

एकाइ (भवन) ले २०७४ मङ्सिरदेखि संहिता परिमार्जन शुरु गरेको थियो । त्यसक्रममा भवन निर्माणसम्बन्धी सबै सरोकार भएका सङ्घसंस्था एवं निकाय, विश्वविद्यालय तथा कलेज, खानी तथा भूगर्भ विभागलगायतसँग बृहत् अन्तक्र्रिया तथा कार्यशाला गरिएको थियो । संहिता परिमार्जनका क्रममा ‘भूकम्पीय जोखिम नक्सा पनि तयार गरिएको छ । संहिताले साना भवनदेखि ठूलासम्म र सार्वजनिकदेखि निजी भवनसम्मलाई समेट्नेछ ।

संहिता परिमार्जनका लागि मन्त्रालयको भवन आवास महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको थियो । त्यसैगरी, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशकको नेतृत्वमा सात सदस्यीय कार्यकारिणी समिति गठन गरिएको थियो ।