अन्तर्राष्ट्रिय

न्यू साउथ वेल्समा एक हप्ता ‘सङ्कटकाल’ घोषणाः सतर्कता अपनाउन आग्रह

एजेन्सी । डढेलोको खतरा अझै पनि कम नभएपछि अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रान्तमा एक हप्ता लामो सङ्कटकालको घोषणा गरिएको छ । प्रसिद्ध शहर सिड्नी रहेको अष्ट्रेलियाको पूर्वी प्रान्त न्यू साउथ वेल्समा आगामी हप्ता अहिलेको भन्दा थप तापक्रम बढ्ने र वेगका साथ हावा चल्ने पूर्वानुमान त्यहाँको मौसम विज्ञान विभागले गरेको छ ।

तापक्रम र हुरी चल्ने पूर्वानुमानपछि डढेलोको खतरा अझै बढ्ने खतरालाई मध्य नजर गर्दै शहरी क्षेत्रका हजारौँ मानिस भागेर समुद्री किनारामा पुगेका छन् । अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म कम्तीमा १८ जनाको मृत्युभएको छ भने भिक्टोरिया र न्यू साउथ वेल्समा एक हजार ३०० भन्दा बढी घर पूर्णरूपमा जलेका बताइएको छ ।

डढेलोको खतरा बढेसँगै यो हप्ता मात्रै कम्तीमा १७ जना मानिसहरू हराइरहेका वा परिवार र साथीको सम्पर्कमा आउन नसकेको बताइएको छ ।अहिलेसम्म डढेलोका कारण कम्तीमा ५५ लाख हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कुल क्षेत्रफलभन्दा बढी भएको बताइएको छ ।

यस वर्ष अस्ट्रेलियामा गर्मी अत्यधिक महशुस गरिएको र कतिपय राज्यमा डढेलो ‘नियन्त्रण बाहिर’ रहेको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् । पछिल्ला केही दिनमा देशका सबैजसो राज्यमा तापक्रम करिब ४० डिग्रीको वरपर पुगेको छ । गत हप्ता मात्र डढेलोले सयौँ घरमा क्षति पुर्याएपछि न्यू साउथ वेल्स सरकारले एक हप्ताका लागि सङ्कटकाल घोषणा गरेको छ । सङ्कटकाल शुक्रवारदेखि सात दिन रहने बताइएको छ ।

बढ्दो तापक्रम वृद्धिसँगै मुलुकका अधिकांश क्षेत्रमा वेगसाथ हावाहुरी आउनसक्ने अनुमानसँगै राजधानी क्यानवेरामा पनि ‘डढेलोको खतराबाट एक हप्ता सावधानी अपनाउन विपत् सेवा निकायले आग्रह गरेको छ । यद्यपि राजधानी शहर रहेको प्रान्तमा अहिलेसम्म ठूलो डढेलो लागेको भने छैन । सम्भावित भवितव्यलाई लिएर क्यानवेरामा उक्त सावधानीको सूचना जारी गरिएको हो ।