समाचार

आज काठमाण्डौ सहित देशका पूर्वी र मध्य क्षेत्रमा सामान्य पानी पर्ने, मौसमवीद

काठमाण्डौ । मौसममा आएको परिवर्तनले मुलुकभर अत्यधिक चिसो बढेको छ । यति मात्रै नभई पश्चिमी मौसमी वायुको प्रभावले हिजो मुलुकभर वर्षा समेत भएको छ । वर्षा भएसंगै आज अत्यधीक चिसो महशुस गरिएको छ ।  साथै आज पनि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभुति पोख्रेलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभाव आज यी ठाउँमा धेरै पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

पश्चिमी वायुको प्रभाव आज पश्चिमी क्षेत्रमा भने कम हुने सम्भावना छ । आज दिउँसो काठमाण्डौ सहित देशका पूर्वी र मध्य क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना भए पनि बेलुका चाररपाँच बजेपछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिउँ पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उनले बताए ।

शनिबार आजको तुलनामा पश्चिमी वायुको प्रभाव कम हुने भए पनि उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ । आज बिहान पौने ६ बजेको काठमाण्डौको तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।