प्रदेश 2

वनभोज मनाएर फर्किंदै गरेका किशोरमाथि गोली प्रहार

जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा गए राति वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका छोरा अन्दाजी १४ वर्षीय अक्षय कापरमाथि गए राति ७ बजे गोली प्रहार भएको छ । छातिमै लागेको गोली प्रहारबाट किशोर कापर गम्भीर घाइते भएका छन् भने उनलाई उपचारको लागि गए राति काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको प्रहरी उपरीक्षक अधिकारीले  बताए ।

सन् २०२० को अवसरमा आफ्नै गाउँसँग टाँसिएर रहेको भारतीय सीमा नजिकै साथीहरुसँग वनभोज मनाएर गाउँ फर्किंदै गरेका किशोरमाथि सोही गाउँमा बस्ने अन्दाजी ३९ वर्षको विनय सिंहले गोली प्रहार गरेको पीडितका परिवारजनले जनाएका छन् ।

गोली प्रहार गरी विनय सिंह भारततर्फ फरार भएका छन् भने प्रहरीले गोली हान्ने व्यक्तिको पहिचान भइसकेको तथा उनको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।