आर्थिक

पनौतीमा यसरी गरे तस्वीर प्रदर्शनी

बनेपा । पनौती पर्यटन विकास केन्द्रको आयोजना तथा पनौती नगरपालिकाको सहयोगमा पनौती नगरपालिका वडा नं ७ इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा प्रथम पनौती फोटो प्रर्दशनी शुरु भएको छ । ‘घुम्नैपर्ने पनौती’ पुस्तिका पनि सार्वजनिक गरिएको छ ।

नगरप्रमुख भीम न्यौपानेले पछिल्लो समयमा पनौती नगरपालिकामा पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको बताए । “पर्यटक भित्र्याउन गर्नुपर्ने पूर्वाधारको काममा पनि उत्तिकै चासोका साथ काम गरिरहेका छौँ, त्यसका लागि नगर बासिन्दाले पनि साथ दिइरहेको छ”, न्यौपानेले भने, “विश्व सम्पदासूचीमा सूचीकृत हुन प्रस्तावित शहर भएकाले त्यसको लागि बाँकी केही काम नगरपालिकाले अगाडि बढाइरहेको छ ।”

नगरको मुख्य बजार क्षेत्रका घरहरुलाई पुरातात्विक हिसाबले घरको नमुनालाई कसरी पुरानै ढाँचामा बनाउन सकिन्छ भनेर योजना बनाएर लागिरहेको उनले बताए । नगर बासिन्दाले पनि पनौतीको विकास र पर्यटक प्रवद्र्धन कृषि र धार्मिक हिसाबबाट मात्रै आर्थिक उपार्जन गर्न सम्भव भएकाले उक्त सोचका साथ अगाडि बढ्न आग्रह गरे । नगरलाई सफा बनाउनका लागि सबै एकताबद्ध भएर लाग्न नगरप्रमुख न्यौपानेले आग्रह गरे ।

कार्यक्रममा नगपालिकाका वडाध्यक्ष एवं पनौती नगरपालिका पर्यटन विकास समितिका संयोजक पुरुषोत्तम अधिकारीले नगरभित्रका घुम्नैपर्ने बस्ती समेटिएर तस्वीर राखिएको बताए । “नगरपालिकाको पर्यटकीय सम्भावना भएको स्थानका बारेमा सबैसामु जानकारी दिन पुस्तिका प्रकाशन गरेका छौँ”, उनले भने ।

भ्रमण वर्षको शुरुमै पनौती नगरपालिकामा पर्यटक केन्द्रित विभिन्न फोटो प्रदर्शनी गर्न थालेका छन् । सो क्रममा नगरको १२ वटै वडामा भएको पर्यटकीयस्थलको फोटो प्रदर्शनीसँगै पर्यटकका लागि जानकारीमूलक ‘पुस्तीका’ समेत सार्वजनिक गरिएको छ । ‘घुम्नैपर्ने पनौती’ नारासहित बुधबारदेखि शुरु भएको पनौती नगरपालिका र पनौती पर्यटन विकास केन्द्रले आयोजना गरिएको फोटो प्रदर्शनी एक महिनासम्म जारी रहने जनाएको छ ।

यसअघि नगरपालिकाले घरवासको विकाससँगै पर्यटकलाई आकर्षण गर्ने कार्य विभिन्न संस्कृति झल्किने सम्पदाको संरक्षणसँगै प्रचार गर्नका लागि छलफलसमेत गरिएको थियो । सो क्रममा नगरभित्र घुम्न आउने विदेशी पर्यटकलाई बुधबार टीका र ब्रोसर दिएर स्वागत गरेका छन् । वडा नं ७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले ओझेलमा पर्दै गएको पनौतीलाई थप विकास गर्न पर्यटकलाई भित्र्याउन जोड दिँदै अगाडि बढिरहेको बताए ।