मनोरञ्जन

नृत्य र गायनमा रुचि हुने नवप्रतिभाहरुलाई सुनौलो अवसर..

काठमाडौं । ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ ।  ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको रुपमा रहनेछन् ।

अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को बारेमा बिहीबार राजधानीमा एक कार्यक्रमका बीच जानकारी दिइयो ।

नृत्य र गायनमा रुचि हुने नव प्रतिभाहरुलाई अवसर दिने उद्येश्यले आयोजना गर्न लागिएको यी दुई रियालिटी शोको अमेरिकाको विभिन्न शहरमा अडिसन हुने अभिनेत्री केकी अधिकारीले जानकारी दिइन् ।

अडिसनबाट छानिएका करीब २० जना नव प्रतिभाले यस रियालिटी शोमा सहभागिता जनाउन पाउने उनको भनाई छ । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् ।

त्यस्तै, दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहारहरु पाउने आयोजक सदस्यमध्येकी अभिनेत्री रीमा विश्वकर्माले जानकारी दिइन् । ‘इन्टरनेशनल होम केयर’ का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ हुन लागेको हो ।  दुवै रियालिटी शोको ग्रान्ड फिनाले अगस्टमा हुनेछ ।

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा नेपाली फिल्म र सांगीतिक क्षेत्रका चर्चित व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ । सन्दीप क्षेत्री, बाबु बोगटी, दीलिप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अञ्जु पन्तलगायत ३० भन्दा बढी फिल्म र संगीत क्षेत्रका व्यक्तिहरुकोे उपस्थिति रहनेछ ।

यस्तै गायक खरेलले विदेशी भूमिमा यस खालका कार्यक्रमहरु हुनु एकदमै राम्रो रहेको बताए । नृत्य र गायनमा रुचि हुनेहरुका लागि ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ एउटा ठूलो मञ्च सावित हुने उनको विश्वास छ ।