काठमाडौं । सरकारले सार्वजनिक यातायातको साधनमा सायरी, कविता, मुक्तकसहित स्लोगन लेखेमा कारबाही गर्ने भएको छ । सार्वजनिक यातायातका सवारी साधनको नम्बर र यातायातको नामबाहेक थप अरु लेखेमा कारबाही गरिने यातायात व्यवस्था विभाग एक विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक ई.गोगन बहादुर हमालका अनुसार सवारी साधनमा लेखिएका कविता, सायरीले चालकको ध्यान तान्ने बताउँदै दुर्घटना निम्तिन सक्ने भएकाले यो कदम चाल्नु परेको हो।यसप्रति बेवास्ता गरिए कानुनअनुसार कारबाही गर्ने उनको चेतावनी छ ।
सवारी साधनमा नम्बर र यातायातको नाम बाहेक अरु लेख्न कानुनले पनि बर्जित गरेको र यही कानुन कार्यान्वयन गर्न अहिले सार्वजनिक सूचना निकालेर यातायात व्यवसायी र चालकलाई सूचित गरिएको महानिर्देशक हमालले बताए ।
साथै सरकारले चालकलाई जुत्ता लगाउन अनिवार्य गरेको छ । चालकले चप्पल लगाएर यातायातको साधन चलाए कारबाही गर्ने महानिर्देशक हमालले भने । चालकले चप्पल लगाउँदा चप्पलको लोती ब्रेक र एक्सिलेटरमा अड्किँदा दुर्घटना हुने भएकाले चालकलाई अनिवार्य रुपमा जुत्ता लागउनु पर्ने व्यवस्था गरेको उनको भनाइ छ ।
उनका अनसार विभागले निर्णय कार्यान्वयन गर्न सबै यातायात कार्यालयमा चिठी पठाइसकेको छ । सार्वजनिक सवारी साधानमा यस्तो साहित्य वा कोटेसन भटिए सवारी जाँचपास नहुने समेत हमालले बताए ।
यहाँ केहि ट्रक साहित्यहरू राखिएको छ :
गाउँको कथा हामीलाई के थाहा ?
अनि हाम्रो कथा गाउँलेलाई के थाहा ?
आजकालका सीताहरू दिउँसै रावणलाई घरमा बोलाउँछन्
विचरा कतारमा बस्ने रामलाई के थाहा ?
जनावरहरू पुच्छरले इज्जत छोप्छन् र खुसी छन्
नेताहरूको इज्जत पनि छैन र पुच्छर पनि छैन
त्यसैले दु:खी छन् ।
जिन्दगी हाम्रो काल रहेछ
थाहै भएन
तिमीजस्ती तरुनी कति आए कति गए, बालै भएन
रक्सीको झोकमा भाउन्न, झोकमा स्वास्नी कुट्यो लठ्ठीले
गर्नुसम्म गर्यो यो देशलाई, जाँड–रक्सी अनी भट्टीले
सिसा फुटे टुक्रा हुन्छ
धर्ती फुटे खाडल
मन फुटे आँसु झर्छ
माया फुटे पागल ।
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन
ड्राइभरका स्वास्नी धेरै हुन्छन्, खलासीको हुँदैन
एैंसेलुखर्क जाने’भा पर्ख
म नआई नफर्क…
धनकुटा हिले दिल चित्त मिले
जाउँ हिँड यो वर्ष !
काली गर्छे माया गोरी गर्छे प्यार ।
ड्राइभरको जिन्दगी गजब छ यार ।
गरिब थिएँ, गरिब नै छु, धनी केटा तिमीले भेट्टायौ
मायालाई धनसँग साट्नु
थियो भने मसँग बैंसको प्यास किन मेटायौ ?
चौतारीमा भरिया दाइले भारी बिसाउने
ड्राइभरलाई मात्र हेर्दा नानी, खलासी रिसाउने ।
अँध्यारो रात छ, नदीको किनार छ
इस्टेरिङमा हात छ, ईश्वरको सहारा छ ।
सधैँभरि चक्काजाम, बन्द अनि हड्ताल ।
महँगी बढ्ने, ढुङ्गा हान्ने, के यही हो नयाँ नेपाल ?
टिसर्ट राम्रो सिफन त सारी राम्रो फाइबरको
दुनियाँका स्वास्नी पोइल जान्छन् दोष किन ड्राइभरको ?
साँझ–बिहान नभनेर जहिल्यै पसल खोल्छिन् ।
उधारो नि दिन्छिन् गाँठे हाँसी–हाँसी बोल्छिन् ।
रक्सी पिउने रहर हुँदैन तर नपिएको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ भट्टी नभएको सहर हुँदैन।
बच्चाको जिन्दगी बिस्कुट
र केकमा
डाईभरको जिन्दगी स्ट्रेरिङ
र ब्रेकमा ।
गाडी हो जापनिज
कच्चा नसम्झ
ड्राइभर हो नेपाली
बच्चा नसम्झ ।
बुझ्नु न सुझ्नु हर्न प्वाँ प्वाँ !
आकाशमाथि परी
दलीमाथि चरी
कहीँ–कतै भूल भए
आई एम सरी ।
तिमी गुलाफ बन प्रिय
म काँडा बनिदिनेछु !
जो छुन आउँछ तिमीलाई
च्वास–च्वास्स घोचिदिनेछु ।
सदा भवानी दाहिने
सन्मुख रहुन् गणेश
तिनै देवले रक्षा गरून्
ब्रह्मा, विष्णु, महेश ।
मनमा पिर भए नि मुस्कान लिएर चढ,
मेरै मायालु भएनि भाडा
दिएर झर ।
फूल दिउँ भने पात छैन, मुस्कान दिउँ भने अगाडीको दाँत छैन ।
बाउ पनि ठिस आमा पनि ठिस, छोरीचाहिँ वान पिस ।
नेपाल त पूरानै ठीक थियो
अब देशले कोल्टे फेर्छ भन्थे उत्तानो नै परेछ
कृपया हर्न नबजाउनु होला मेरो देश सुतिरहेको छ
फरक्क फर्की नहेर
कान्छी हरनको तालैमा, ड्राइभरहरू हरामी हुन्छन् किस खालान् गालैमा ।
नयाँ गाडी किनेर ड्राइभरलाई जिम्मा दिनु र भर्खरै विवाह गरेर विदेश जानु उस्तै–उस्तै हो ।
काठमाडौंको सुकुलगुन्डा, पोखराको गाईने, अचेलका केटीलाई ट्यापे केटा चाहिने ।
कवि भए कलम, कलम भए कविता । धनी मरे श्रद्धाञ्जली, गरिब मरे रमिता ।
कसैलाई लभ परेर टेन्सन, कसैलाई लभ नपरेर टेन्सन, आफ्नो चाहिं हुँदै नभएको, पर्दै नपरेको लभको हल्ला चलेर टेन्सन ।
कस्तो फूल रोजेछु मैले टिप्न नपाइ ओइलाइ जाने, कस्तो माया लाएछु मैले, बोल्नै नपाइ पोइल जाने ।
जीवनमा एउटै मात्र गल्ती गरिरहें, धुलो मेरो अनुहारमा रै’छ तर मचाहिं ऐना पुछिरहें ।
कति साबुन दल्छस् ओइ
काले, लाइफब्वाइ साबुन नै
कालो भैसक्यो ।
उकाली होस् वा ओराली होस्, बाटैमा ससुराली होस् । गोरी होस् वा काली होस्, ससुरालीमा एउटी साली होस् ।