राजनीति

नेतृत्व बिपीले देखाएको बाटो बिराउँदै गयो, जोगाउन सबै एकजुट हुनुपर्छः नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । बिपी कोइराला स्मृति ट्रष्टले ४४औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्व विधि विधान अनुसार चल्न नसकेको आरोप लगाए ।

नेता सिंहले अलोकतान्त्रिक तवरले हिँडेको पार्टी नेतृत्वलाई विधि, विधान, पद्दति र अनुशासनमा हिँडाउनका लागि आफूहरु लागि परेको बताए । “पार्टीले बिपी कोइरालाले देखाएको बाटो बिराउँदै गइरहेको छ, पार्टी दुर्घटना हुनबाट जोगाउन सबै एकजुट हुनुपर्छ,”–उनले भने । पार्टीका नेता एवं पूर्वमन्त्री डा रामशरण महतले पार्टी अहिले दुर्भाग्यपूर्ण मोडमा आएको बताए । “बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायका नेताको दर्शन, एकता र मेलमिलापको बाटोमा हिँड्न सबै एकजुट हुनुपर्छ,”–उनले भने ।

वरिष्ठ पत्रकार होमनाथ दाहालले मुलुक जोगाउनका लागि काँग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ट्रस्टका महासचिव एवं पूर्वसांसद रामचन्द्र पोखरेलले बिपी कोइरालाले देखाएको बाटोमा पार्टी हिँडेमात्र पार्टी बलियो हुने बताए ।