राजनीति

‘वरिष्ठ नेता घरमै हुनुहुन्छ, बैठकमा जानुभएन’- पौडेल सचिवालय

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको छ। आन्तरिक विवाद व्यवस्थापन, राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा सहमति जुटाउन बुधबार अपरान्हदेखि सभापति देउवाले निवासमा बसेको बैठकमा पौडेल पक्ष सहभागी भएको छैन ।

‘वरिष्ठ नेता घरमै हुनुहुन्छ, बैठकमा जानुभएन,’ पौडेलको सचिवालय स्रोतले भन्यो। अंग्रेजी नयाँ वर्षको दिन अपरान्ह पाँच बजे जलपानसहित डाकिएको बैठकलाई रामचन्द्र पौडेलसहितको असन्तुष्ट पक्षले बहिष्कार गरेको हो।

असन्तुष्ट पक्षलाई बाहिर राखेर गरिएको एकपक्षीय निर्णय नसच्चाएसम्म सभापति देउवा र संस्थापन पक्षले बोलाएको बैठक तथा छलफलमा सहभागी नहुने निर्णय असन्तुष्ट पक्षले गरेको छ । त्यही निर्णयबमोजिम सभापति निवास बुढानीलकण्ठ बैठकमा सहभागी नहुने असन्तुष्ट पक्षको वार्ता टोलीका सदस्य हृदयराम थानीले जानकारी दिए । उनले भने, ‘हामी आज पनि जाँदैनौं र बिहीबार सानेपामा बोलाइएको केन्द्रीय समितिको बैठकमा पनि सहभागी हुँदैनौं ।’