राजनीति

‘प्रधानमन्त्री हुन्छु भनेर त सोचेकै थिइन, मास्टर बन्ने रहर थियो’- प्रधानमन्त्री ओली

काठमाडौं  । प्रधानमन्त्री केपी ओलीले आफू बालक हुँदा शिक्षक बन्ने इच्छा राखेको बताएका छन् । बुधबार ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक कार्यक्रममा बालबालिकाले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

‘म किसान परिवारमा जन्मेको हुँ। त्यो बेला देशको प्रधानमन्त्री हुन्छु भनेर सोच्नु पनि  सम्भव थिएन,’ उनले सुनाए, ‘गुरूहरू देखेर मास्टर बन्ने रहर पलाएको थियो।’

उनले बालबालिकालाई पढाइमा केन्द्रित हुन सुझाव दिएका छन् । ‘विद्वानले कम जानेको हुन्छ। सर्टिफिकेटधारी ज्ञानको अभावमा मान्छे रहने खतरा हुन्छ । अध्ययन भनेको जिन्दगीभरिको परीक्षा हो।’ उनले विद्यार्थी प्रज्ञान बस्नेतको प्रशंकाको जवाफ दिँदै उक्त कुरा बताएका हुन् ।

विद्यार्थी बस्नेतले  ‘हजुर जस्तो प्रश्नको पनि सामान्य ढंगले उत्तर दिनुहुन्छ। हजुरको जस्तो अथाह ज्ञान पाउन कसरी पढ्ने होला?’ भनेर प्रश्न सोधेका थिए । यो प्रश्नलगत्तै प्रधानमन्त्री ओलीले मुसुक्क मुस्कुराउँदै विद्यार्थीलाई धन्यवाद दिए।प्रधानमन्त्री ओलीले आफूसँग अथाह ज्ञान नभएको पनि बताए ।

उक्त कार्यक्रममा प्रधानमन्त्री  ओलीलाई  विद्यार्थीले विभिन्न प्रश्न गरे । कक्षा १० की छात्रा अस्मिता परियारले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले राजनीतिमा होइन पढाइमा लाग्नुहोस् । आँखा खोलेर ज्ञान लिनुहोस् ।  पछि राम्ररी बुझेर राजनीतिमा लाग्नेगरी तयारी गर्नुहोस् ।’ 

‘विद्यार्थी राजनीतिमा लाग्नुपर्छ म भन्दिन । तपाईंहरुले अध्ययन गर्नुपर्छ । अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्छ । सँगसँगै सामान्य ज्ञानको रुपमा देशमा के भइराखेको छ, कस्तो भइराखेको छ, त्यो कुरा थाहा पाउनुपर्छ । सही के हो र गलत के हो थाहा पाउनुपर्छ । राजनीतिको बारेमा थाहा पाउनुपर्छ’, जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘राजनीति देशका नीतिमध्ये मूल नीति हो । राजा र राणाको शासनकालमा देश विकासमा जान सकेन । राजनीति ठिक हुँदा मात्र देश अगाडि बढ्छ । अहिले देशमा शान्ति सुरक्षा छ । राजनीतिक उद्देश्य सही छ ।  राजनीति गलत भए क्रान्तिका नाममा अनेक खालका ध्वंश मच्चाउने गर्छ । राजनीति देशको मूल नीति भएकाले नयाँ पुस्ताले यसको विषयमा थाहा पाउनुपर्छ ।’

‘देश कसरी अगाडि बढेको छ भन्ने कुरा थाहा पाउनुपर्छ । दलीय व्यवस्थामा राम्रा र नराम्रा विषय छन् । राम्रा विषयलाई पछ्याउनुपर्छ । तपाईं मतदाता भएपछि ठिक दललाई मतदान दिने कुरामा ध्यान दिनुपर्छ । तर, विद्यार्थीले पढाइ छोडेर राजनीतिक गर्नुपर्छ भन्दिन । विद्यार्थीले राजनीति गर्दै, मन्त्री, प्रधानमन्त्री राष्ट्रपति हुनुपर्छ’, ओलीले भने, ‘तपाईंमध्येबाटै कोही सचिव हुनुपर्छ, कोही सेना हुनुपर्छ, कोही पुलिस हुनुपर्छ, कोही डाक्टर हुनुपर्छ,  कोही  वकिल हुनुपर्छ, कोही इन्जिनियर हुनुपर्छ । जसको रुचि जुन विषयमा छ त्यही क्षेत्रमा जानुपर्छ ।’ 

उनले समयक्रममा समाजमा बेठीक र अनुचित काम देखेपछि त्यो बदल्न आफू संघर्ष यात्रामा होमिएको सम्झिए। ‘प्रधानमन्त्री भन्ने त कल्पना थिएन। देशमा परिवर्तन ल्याउने भन्ने धारणा थियो,’ उनले भने। उनले पञ्चायती तानाशाहविरूद्ध लड्दा मर्न परे पनि मर्छु भनेर होमिएको पनि बताए।’जे गर्नुपर्ने गर्छु भनेर आन्दोलनमा लागेको थिएँ। मेरो उद्देश्य निरंकुशतन्त्र ढाल्ने, लोकतन्त्र ल्याउने थियो,’ उनले भने।

उनले जेलमा पर्दा अहिले मार्छ कि भोलि मार्छ भन्ने त्रास रहेको पनि बताए। ‘अहिले मार्छ कि भोलि मार्छ भन्ने बेला प्रधानमन्त्री हुन्छु भनेर विपरीत सपना देख्नु मुर्खतापूर्ण नै थियो,’ उनले भने। उनले सांसद, मन्त्री हुँदै परिस्थितिले प्रधानमन्त्री बनाएको पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलील राति अबेलासम्म पढ्ने कारण आफू कम सुत्ने गरेको समेत बताए। दिउँसो पढ्ने समय नहुँदा आफू राति पढ्ने गरेको उनको जिकिर थियो । उनले आफूलाई फुर्सदको समय एकदमै कम हुने जनाए।