समाचार

एनसेलको टावरमा कसले लगायो आगो ?

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ । सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मङ्गलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए।

आगजनी कसले गर्यो भन्ने नखुलेको प्रहरी उपरीक्षक खनालको भनाइ छ । स्थानीयवासी जसबहादुर वाइबाको जग्गामा रहेको सो टावर मङ्गलबार राति करिब १० बजेका समयमा आगजनी भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसनधान जारी रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए ।

आगजनीबाट टावरमा ८० प्रतिशत क्षति पुगेको बताउँदै उनले टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको भए पनि बिटिएस भने सुरक्षित रहेको छ । कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।