पत्रपत्रिका

छाउगोठ हटाउन सुरुगरे संगै त्रिपालमा बस्दै महीलाः सातामै ५ सय ४५ भत्काइए

अछाम । अछाममा छाउगोठ भत्काउने अभियानले तीव्रता पाएको छ । जिल्लाका १० स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान अघि बढेको हो । गत मंसिर १५ मा साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउ बार्न गोठमा बसेका बेला मृत्यु भएको थियो ।

उक्त घटनापछि गृह मन्त्रालयको निर्देशनमा प्रहरीको नेतृत्वमा छाउगोठ भत्काउन थालिएको हो । भत्काउने अभियानको सुरुवात साँफेबगर नगरपालिकाले गरेपछि अन्य नौवटा स्थानीय तहले पनि चासो देखाएका हुन् । महान्यायाधिवक्ताको कार्यालय, प्रहरी हेडक्वार्टर र गृह मन्त्रालयले छाउगोठ नष्ट गर्नु, जनचेतनाका कार्यक्रम सँगसँगै गर्नु र अटेर गर्नेलाई कारबाही गर्नु भन्ने लिखित निर्देशन दिएको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।

स्थानीयस्तरमा पटकपटक छलफल गर्दा र कानुनका बारेमा जानकारी दिँदा पनि छाउगोठमा मृत्यु हुने क्रम नरोकिएपछि प्रहरी र प्रशासनले नेतृत्व लिनुपरेको उनले बताए । ‘१० वटै स्थानीय तहका सरोकारवालासँग सर्वदलीय बैठक गर्दैछौं । कहिलेसम्म छाउगोठ हटाइसक्ने भन्नेबारे छलफल थालेका छौं,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘अटेर गर्नेलाई कारबाही गर्ने र सेवा सुविधा रोक्न सक्ने अवस्था पनि आउने देखिन्छ ।

स्थानीयसँगको सहकार्यमा एक सातामा अछामका विभिन्न ठाउँमा हालसम्म ५ सय ४५ वटा छाउगोठ भत्काइएको प्रहरी प्रमुख डीएसपी दीपक भारतीले बताए । ‘मनमा बसेको कुरा हट्न समय लाग्ने देखिन्छ । तर स्थानीयको साथले मात्रै छाउगोठ भत्काउन सम्भव भएको हो,’ उनले भने ।

साविकको महिला तथा बालबालिका कार्यालयले २०७३ मा छाउपडी अवस्था विश्लेषणसम्बन्धी घरधुरी सर्वेक्षण गर्दा अछाममा ३३ हजार १८ छाउगोठ भेटिएका थिए । महिनावारी हुँदा घरमा बसाउने परिवार ८ हजार ६ सय ५१ मात्र थिए । तीन वर्षको अवधिमा घरमा बसाउनेको संख्यामा खासै परिवर्तन नआएकाले कानुन कार्यान्वयनसँगै छाउगोठ भत्काउने अभियान जारी राख्नुपर्ने देखिएको सरोकारवाला बताउँछन् ।

धामीझाँक्रीले गरे हस्ताक्षर

७० प्रतिशत जमिन नै देवीदेवताको नाममा भएको पञ्चदेवल नगरपालिका–८ बारलामा पनि ७० छाउगोठ भत्काइएको वडाध्यक्ष तारा खनालले बताए । ‘पहिले ३र४ घरमा मात्रै छाउगोठ थिएनन् । ती परिवारलाई समाजले छाउ नबार्ने भन्दै बहिष्कार गरेका थिए,’ उनले भने, ‘गाउँमा ठूलो छलफल भयो ।

धामी र पुजारीसँग बहस भएको छ ।’ बारला गाउँका ३० जना धामी र पुजारीले महिनावारी भएकी महिलालाई घरमा सुरक्षित रूपमा राख्ने र कानुन मान्ने भन्दै हस्ताक्षर गरेका छन् ।

महिनावारी भएकी महिलालाई छाउगोठमा नराख्ने, राखे कानुनअनुसार कैद र जरिवानाको सजाय भोग्न तयार रहेको भन्दै उनीहरूले हस्ताक्षर गरेका हुन् । ‘धामी र पुजारीकै घरमा राति पनि प्रहरी बसे । उनीहरूलाई सम्झाए,’ वडाध्यक्ष खनालले भने, ‘बारलामा त यो धेरै प्रगति भएको हो । कानुन लाग्छ भनेपछि सबै डराएका छन् ।’

त्रिपाल टाँगेर बस्छन्

छाउगोठमुक्त गाविस घोषणा गरेका साबिकका गाविसका महिलाहरू त्रिपाल टाँगेर बस्ने गरेका घटना बाहिर आउन थालेपछि योतर्फ पनि ध्यान दिन थालिएको ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाले बताए । गोठ भत्काएर घरमा बस्छु भनेर प्रतिबद्धता जनाएका महिलाहरू फेरि त्रिपाल टाँगेर बस्न थालेका छन् ।

परम्परा तोड्न नसकिने भन्दै फेरि बाहिर त्रिपाल टाँगेर बस्न थालेको साबिकको बलाता गाविसकी नन्दा साउदले बताइन् । ‘पहिलेभन्दा अहिले बढी दुस्ख पाइन थालेको छ,’ उनले भनिन्, ‘गाउँभरिका मान्छेले सल्लाह गरेर घर नबस्ने कुरा गरे । एक्लैले घरमा बसे गाउँ समाजबाट अलग हुनुपर्छ ।’

ढकारी–४ की सिर्जना योगीको माइती नेपालगन्ज हो । माइतीमा छाउ बारिनन् । जब बिहे गरेर ढकारी आइपुगिन् त्यसपछि उनले सोचेभन्दा फरक तरिकाले छाउ बार्नुपर्‍यो । ‘माइतीमा हुँदा छाउपडी गोठमा बस्छन् भन्ने त सुनेकी थिएँ तर देखेकी थिइनँ,’ उनले भनिन्, ‘खुट्टा तन्काउन पनि नमिल्ने सानो ठाउँ, सोचेभन्दा फरक र अप्ठ्यारो महसुस भयो ।

कति दिन म छाउगोठमा रोएकी छु ।’ महिलाहरू आफैं बाहिर बस्ने, सम्झाउन बुझाउन जाँदा गाली गर्ने गरेको ढकारी–१ की सामाजिक अभियन्ता हस्तना बुढाले बताइन् ।