पत्रपत्रिका

आजदेखी भ्रमण वर्ष २०२० सुरु हुँदैः राजधानी काठमाडौं मैै छैैन केहि तयारी !

काठमाडौं । आजदेखी नेपाल भ्रमण वर्ष २०२० को सुरुवात हुँदै छ । मुलुकभर धुमधामका साथ भ्रमण वर्षको सुरु गरिँदै छ । विभिन्न प्रदेशले भब्य कार्यक्रमका साथ प्रमण वर्षको उद्घाटन गर्दै छन् । भ्रमण वर्ष २०२० सुरु भए पनि काठमाडौंकै पर्यटक स्थलहरू पर्यटकमैत्री बन्न सकेका छैनन् ।

काठमाडौंका प्रमुख पर्यटकीय स्थललाई २४सै घन्टा खुला बनाउने घोषणा भए पनि सुरक्षा र पूर्वाधार नहुँदा कार्यान्वयन भएको छैन ।

गृहमन्त्री रामबहादुर थापा बादलले १९ चैत ०७५ मा सार्वजनिक गरेको ८२ बुँदे ‘गृह सुधार कार्ययोजना ०७५’ को बुँदा नम्बर ७७ मा भनिएको छ, ‘सरोकारवालाहरूसँगको सहकार्यमा पर्यटकको आगमन बढी हुने क्षेत्रमा २४सै घन्टा बजार खुला राख्न सुरक्षा व्यवस्था मिलाइने ।’ कार्ययोजनामा यसको समयसीमा असार मसान्त ०७५ राखिएको छ । समयसीमा काटेको डेढ वर्ष नाघिसकेको छ, तर गृहको यो योजना कार्यान्वयन हुन सकेको छैन ।

बुधबारदेखि भ्रमण वर्षको सुरुवात हुँदै छ । भ्रमण वर्षमा समेत काठमाडौंका ठमेललगायत पर्यटकीय स्थल खुला रहने प्रशासनले समयसीमा लागू गरेको छ । भ्रमण वर्षमा समेत पर्यटकीय केन्द्रलाई २४सै घन्टा खुलाउन सरकारले पहल नगर्दा व्यवसायीहरू निराश भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक दाहालले ठमेललगायत क्षेत्र रातभर खुलाउन केही समस्या रहेको बताए । ‘जसरी रात्रिबस सफल हुन सकेन, त्यस्तै समस्या छ,’ उनी भन्छन्, ‘तर पनि भ्रमण वर्षमा अहिलेभन्दा धेरै समय रात्रिकालीन व्यवसाय खुलाउन दिन्छौँ ।’ हाल रेस्टुरेन्टहरूलाई ११ र डिस्को तथा डान्सबारलाई १२ बजेसम्म खोल्ने समयसीमा तोकिएको छ ।

पर्यटकीय स्थल सुरक्षाका लागि सिसिटिभीलगायत पर्याप्त स्रोत–साधन नहुँदा २४सै घन्टा खोल्ने योजना सफल हुन नसकेको बताउँछन् प्रहरी अधिकारीहरू । काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी भन्छन्,‘हामी बजार रातभर नै खुलाउने पक्षमा छौँ, तर व्यवसायीहरू नै मापदण्ड पूरा गर्न तयार छैनन् ।

सबै क्षेत्र समेट्ने गरी सिसिटिभी राख्नुपर्ने, सडकका हरेक कुनामा बत्तीको व्यवस्था हुनुपर्ने, कर्मचारीहरूलाई ड्रेस तथा नियुक्तिपत्रको व्यवस्थालगायतका मापदण्ड प्रहरीले बनाएको थियो । यद्यपि, दरबारमार्गरठमेल क्षेत्रका डिस्को र डान्सबार राति अबेरसम्म खुल्ने गरेका छन् ।

डिस्कोहरूलाई प्रशासन कार्यालयले १२ बजेको समससीमा तोके पनि अधिकांश डिस्कोहरू अदालतको अन्तरिम आदेशका भरमा रातभरि चल्ने गरेका छन्  । खाना बेच्ने सामान्य रेस्टुरेन्ट मात्रै छिट्टै बन्द हुने र मदिरा बेच्ने ठूला डिस्कोहरू भने रातभरिजसो खुल्ने गरेका छन् ।

काठमाडौंमा प्रमुखका रूपमा सरुवा हुने हरेक प्रहरी प्रमुखले रात्रिकालीन बजारलाई रातभरि नै सञ्चालन गर्न दिने घोषणा गर्ने तर कार्यान्वयनमा असफल हुने गरेको छ । जनार्दन शर्मा गृहमन्त्री हुँदा समेत उनले यस्तो घोषणा गरेकामा कार्यान्वयन हुन सकेन । पर्यटकीय स्थल रातभर नखुल्नमा केही व्यवसायीहरूको स्वार्थसमेत रहेको बताइन्छ ।

भक्तपुरमा रात्रिकालीन पदयात्रा 

भक्तपुर नगरपालिकाले भ्रमण वर्ष ०२० मा आउने पर्यटकलाई स्वागत गर्न तयार रहेको जनाएको छ । काठमाडौं उपत्यका भित्रिने पर्यटकलाई भक्तपुर ल्याउने उद्देश्यसहित नगरपालिकाले विभिन्न योजना र कार्यक्रम घोषणा गरेको छ । पर्यटकलाई स्वागतसहित निःशुल्क प्रवेश, प्रभातफेरी, झाँकी प्रदर्शन, सम्पदा यात्रा र नगरक्षेत्रमा दीपावली गर्नेसम्मका कार्यक्रम बनाएको छ ।

कला, संस्कृति र सम्पदा संरक्षणलाई नै जोड दिएर पर्यटक आकर्षित गर्ने मेयर सुनील प्रजापति बताउँछन् । उनी भन्छन्, ‘संस्कृति र सम्पदा संरक्षण गर्नु हामी सबैको दायित्व हो, संस्कृति संरक्षणलाई नै व्यावसायिक बनाउन जोड दिएका छौँ ।’ भक्तपुरको ५५ झ्याले दरबार, न्यातापोल मन्दिर, सुनढोका, भैरवनाथ मन्दिरलगायत पाटी–पौवा, ढुंगेधारा, पोखरी, सत्तल, बिहारजस्ता सम्पदा पर्यटकका मुख्य आकर्षण हन् ।

साथै, ऐतिहासिक पोखरी, मठमन्दिर, परम्परागत शैलीका गल्ली, सडक र सहरले पनि पर्यटकको ध्यान तान्ने गरेको उनको भनाइ छ । नगरपालिकाको तथ्यांकअनुसार भक्तपुरमा हरेक वर्ष साढे दुई लाख विदेशी पर्यटक आउँछन् । मेयर प्रजापतिका अनुसार भ्रमण वर्षको सन्दर्भमा भक्तपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा थालनी भएको छ ।

काठमाडौं महानगरको छुट्टै योजना छैन

काठमाडौं महानगरपालिकाले भ्रमण वर्ष लक्षित छुट्टै कार्यक्रम बनाएको छैन । विदेशी पर्यटक नेपाल आउँदा पहिलो पाइला काठमाडौंमै टेक्छन्, काठमाडौंबाटै देशभरका पर्यटकीय स्थलमा जान्छन् र फर्कँदा पनि काठमाडौं नै आउँछन् । तर, महानगरले भने भ्रमण वर्ष लक्षित कुनै पनि कार्यक्रम बनाएको छैन ।

काठमाडौं महानगरपालिका–१५ ले स्वयम्भुमा राखेको एक औपचारिक कार्यक्रमबाहेक महानगरको अन्य योजना नभएको प्रवक्ता ईश्वरमान डंगोलले बताए । स्वयम्भुको सप्ताहव्यापी सांस्कृतिक कार्यक्रमलाई नै महानगरको कार्यक्रमको रूपमा लिइदिनुपर्ने उनको भनाइ छ ।

‘स्थानीय कला संस्कृति झल्कने कार्यक्रमका साथै तीनवटै सुरक्षा निकायको समेत प्रस्तुति रहनेछ,’ काठमाडौं–१ का वडाध्यक्षसमेत रहेका डंगोलले भने, ‘त्यसबाहेक कुनै इभेन्ट छैन ।’ बुधबार दिउँसो ३ बजे दशरथ रंगशालाबाट उल्लासका साथ भ्रमण वर्षको उद्घाटन हुनेछ ।

उद्घाटन समारोहमा सहभागी हुन जमैकाका पर्यटनमन्त्री एडमुन्ड बार्टलेट्, म्यानमारका पर्यटनमन्त्री ओन मउङ, चीनका सहायक पर्यटनमन्त्री वङ सियाओफेङ र भारतका केन्द्रीय पर्यटन तथा संस्कृति राज्यमन्त्री (स्वतन्त्र प्रभार) प्रह्लादसिंह पटेल आइसकेका छन्  ।

पाटन दरबार क्षेत्र घुम्नेलाई ललितपुर महानगरको उपहार

ललितपुर महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पाटन दरबार क्षेत्र घुम्न आउने सबै पर्यटकलाई दुई सातासम्म उपहार दिने घोषणा गरेको छ । साथै, साँझको वेलामा समेत दरबार क्षेत्र घुम्न सक्ने गरी रुट पहिचान गर्न लागेको महानगरले जनाएको छ ।

भ्रमण वर्ष २०२० का अवसरमा ललितपुर महानगरपालिकाका संयोजक दिलेन्द्रराज श्रेष्ठले महानगरले आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रको व्यवस्थापन र वासस्थानका लागि समेत तयारी गरेको बताए ।

उनका अनुसार अंग्रेजी वर्षको पहिलो दिन प्रत्येक वडामा दीपावली गर्ने र पाटन दरबार क्षेत्र घुम्न आउने सुरुका २५ जनालाई बाजागाजासहित स्वागत गर्ने तयारी गरेको छ । टिकट काटेर घुम्न पुग्ने नेपालीलाई समेत स्वागत गर्ने श्रेष्ठले बताए । 

 

                                                                                                               नयाँ पत्रिकाबाट लिएको