राजनीति

सभापति देउवाले बहुमतको नाममा एकलौटी गरेका निर्णय नसच्याए अनिष्ट हुन्छः नेता सिंह

महोत्तरी । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई आफ्नै गाउँठाउँमा बसेर उच्च शिक्षा हासिल गर्ने वातावरण नेपाली काँग्रेसको सरकारले बनाएको बताएका छन् । उनले काँग्रेसमा सभापति शेरबहादुर देउवाले गरेको एकलौटी निर्णयका बिरुद्धमा एकजुट हुने बेला आएको भन्दै बस्दै आएको परम्परा मिच्दा पार्टी सिधिने हुँदा उपर्युक्त समयमा आफूहरुले कदम चाल्न बाध्य हुने बताए । नेता सिंहले आफूहरुको धैर्यताको बाँध फुटेमा परिणाम राम्रो नहुने भन्दै तत्काल केन्द्रीय समितिको निर्णयका नाममा गरिएका गुटगत निर्णय सच्याउन सभापति देउवालाई चेतावनी दिएका छन् । उनले निर्णय सचयएर अगाडी नबढे अनिष्ट हुनसक्नेतर्फ ध्यान दिन नेताहरुलाई आग्रह गरेका छन् ।

महोत्तरीको जलेश्वरस्थित एड्भान्स लर्नर्स इङ्लिश बोर्डिङ माध्यमिक विद्यालयको २५औंँ वार्षिकोत्सवमा नेता सिंहले प्रजातन्त्रअघि नेपाली जनताले उच्च तथा समुचित शिक्षाको लागि भारतको दरभङ्गा जानुपर्ने अवस्था रहेकामा काँग्रेसको सरकार गठनपछि आफ्नै गाउँठाउँमा शिक्षा आर्जनको अवसर प्राप्त गरेको उल्लेख गरे ।

उनले प्रजातन्त्र बहालीपछि नेपालको गाउँगाउँ तथा टोलटोलमा विद्यालय स्थापना गराएर प्रत्येक नेपालीले मौलिक हककै रुपमा शिक्षा पाउनुपर्ने व्यवस्था ल्याएको बताए । नेता सिंहले वर्तमान सरकारले जनतामा बाँडेको समृद्धिको आश्वासन पूरा गर्न नसकेको आरोप लगाए । उनले शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासप्रति सरकार क्रियाशील बन्नुपर्दछ भने ।