पर्यटन/संस्कृति

सम्पदा, कृषि अवलोकन, खाद्य उत्सव, कला प्रदर्शनी गरी नेपाल भ्रमण वर्ष मनाउने

visit nepal 2020 bhaktapur mela

ललितपुर । ललितपुर जिल्लाले वर्षभरि सम्पदा र कृषि अवलोकन, खाद्य उत्सव, कला प्रदर्शनी आदि गरी नेपाल भ्रमण वर्ष–२०२० मनाउने भएको छ । महानगरपालिकाले भ्रमण वर्षका अवसरमा पाटनमा सांस्कृतिक कार्यक्रम गर्ने र एकहप्ताभित्र साँझमा पाटन घुम्न आउने पर्यटकलाई ध्यानमा राखी ‘ काठमाडौं भ्याली बाइनाइट’ नामक कार्यक्रम गर्ने छ ।

ललितपुर महानगरपालिकाले भ्रमणकै अवसरमा आज मङ्गलबार र बुधबार साँझ महानगरका सबै वडामा दीपावली गर्ने भएको भ्रमण वर्ष सञ्चालन तथा सहजीकरण संयोजक दिलेन्द्रराज श्रेष्ठले जानकारी बताए । “भोलि(मङ्गलबार) बिहा ९ बजे पाटन आउने पहिलो पर्यटकलाई महानगरपालिकाका पदाधिकारी मिलेर स्वागत गर्ने तयारी भएको छ ’’, उनले भने । उनका अनुसार ललितपुरका करीब २० देखि २२ विहार पर्यटकलाई अवलोकन गराइने छ । धातुकला, मूर्तिकला र काष्ठकलाबारेमा पर्यटकलाई जानकारी गराउन दुईदेखि तीन विज्ञ तयार गरिएको छ । महानगरपालिकाको शहरी क्षेत्रभित्रका सम्पूर्ण जानकारी पर्यटकलाई उपलब्ध गराउन सो क्षेत्रको ओकुबहाल र भीमसेनबहाल क्षेत्रमा पाँच दिनको महोत्सव गरिने छ ।

नेपालका लागि विदेशी राजदूत र अन्तरराष्ट्रिय सङ्घसंस्थामा कार्यरत प्रमुखलाई कम्तीमा दुई पटक पाटन भ्रमण गराइने, काठमाडौँ उपत्यकामा दैनिक बढ्दै गएको ट्राफिक जामलाई ध्यानमा राखी पाटन क्षेत्रका सडकमा एकतर्फी यातायात सञ्चालन गराइने, ललितपुर भित्रने पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखी आठ मानिस अट्ने छ विद्युतीय यातायात खरिद गर्ने प्रक्रिया रहेको उनले जानकारी दिए ।

ललितपुरको पुल्चोकमा नयाँ सूचना केन्द्र स्थापना गरिने, रेष्टुरेष्ट एण्ड बार एसोसिएसनको सहकार्यमा पाटन भ्रमण गर्न आउने पर्यटकलाई ध्यानमा राखी खानपानमा केही रकम सुलभ गराइने, पाटनमा पर्यटकको मुख्य आकर्षण रहेको झम्सीखेल क्षेत्रमा प्रत्येक हप्ता वर्षभरि केही न केही कार्यक्रम सञ्चालन गरिने तथा ‘कला अवलोकन भ्रमण’ गराइने कार्यक्रम छ ।

आन्तरिक पर्यटकलाई ध्यानमा राखी नेवारी परम्पराको खाना प्रदर्शन अर्थात् ‘फुडी टुर’ गराउने समेत योजना छ । ‘‘लपु महानगरपालिकाले पिम्बहाल पोखरी क्षेत्रको सरसफाइ गरेर वातावरण हराभरा बनाउँदा यहाँ पर्यटकको आकर्षण बढ्दै गएको छ,” श्रेष्ठले भने, “ महानगरपालिकाभित्रको मुख्य सम्पदा बस्ती रहेका क्षेत्र खोकना, बुङ्मती र हरिसिद्धिको थप पहिचान अघि बढाउन यस क्षेत्रमा पर्यटकलाई भ्रमण गराउने योजनामा हामी अघि बढेका छौं ।” यसैगरी पाटन सङ्ग्रहालयले सङ्ग्रहालय घुम्न आउने पर्यटकलाई दैनिक एक देखि डेढ घण्टा स्मारकका बारेमा विस्तृत जानकारी दिलाउन ‘प्रकाश र ध्वनि’ कार्यक्रम अघि बढाउने भएको छ ।

गोदावरी महोत्सव फागुनमा
गोदावरी नगरपालिकाले फागुन महिनामा पाँच दिन गोदावरी महोत्सव गर्ने योजना बनाएको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । उनले भने, “हामीले गोदावरी आउने आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई पदमार्ग र यहाँ रहेका धार्मिक क्षेत्रको जानकारी तथा नगरपालिकाभित्र उत्पादन हुने स्थानीय वस्तुको प्रचारप्रसार र प्रवद्र्धन गर्ने योजना बनाएका छौं ।”

महालक्ष्मी नगरपालिकाले आफ्नो कार्यालयमा प्रयोग हुने प्रकाशन, चिठ्ठीपत्र, बुलेटिनलगायतमा भ्रमण वर्ष प्रतीकचिह्नाङ्कन गरी काम अघि बढाइरहेको महानगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । नगरपालिकाले दैनिक बिहान सूर्याेदय र साँझमा सूर्यास्तलगायत नेपालमा रहेका थुपै्र हिमालमध्ये आठ हिमाल देखिने लाँकुरीभञ्ज्याङबाट चारतिर निस्कन मिल्ने काफ्ले सामुदायिक वन हुँदै मनामोहन उद्यान अनि गोदावरी क्षेत्रमा सजिलै पर्यटकलाई भ्रमण गराउन साढे दुई किलोमिटर सडकमा पैदल चिह्न बनाएको छ । भ्रमणकै अवसरमा लाँकुरीभञ्ज्याङमा हाइकिङ र साइक्लिङ गराउनाका साथै उद्यान निर्माण गर्ने योजना छ ।

महालक्ष्मी नगरपालिका भित्र रहेका सम्पदा बस्तीका रुपमा परिचित सिद्धिपुर, लुभू र सानागाउँमा प्रचलित परालका सामग्री र लुभूमा निर्माण हुने सुतिको कपडाको प्रचार प्रसार र बजारीकरणमा ध्यान दिने श्रेष्ठले जानकारी दिए । उनले भने, “लाकुरीभञ्ज्याङ अवस्थित श्रङग्री ऋषिको हिन्दु र बौद्धधर्मावलम्बी आउने गुफालाई ध्यानमा राखी पूर्वाधार निर्माणको गुरुयोजना अघि बढाएका छौं ।”

यसैगरी दक्षिण ललितपुरमा रहेको महाङ्काल गाउँपालिकाले २१ सदस्य समिति गठन गरी धार्मिकलगायत कृषि क्षेत्रको प्रचारप्रसार गर्ने योजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए । उनले भने, “महाङ्काकालमा रहेका सिम्बा र पालाजु झरना, वैतरणीधाम, कालेश्वर महादेव, लोङ्तोङ गुम्बा, अचम्मको चन ढुङ्गा, गाँडेभञ्ज्याङ, बिमिरे चौर, बुर्जाडाँडा र गाउँपालिका वरिपरि वनजङ्गलमा फुल्ने विभिन्न रङका लालीगुराँसको प्रवद्र्धन र प्रचारप्रसारमा ध्यान दिने छौँँ ।’’ चिया उत्पादन हुने ललितपुरको मुख्य स्थान महाङ्काकालमा भ्रमण गर्न आउने पर्यटकलाई चिया खेतीबारे जानकारी प्रदान गरिने दाहालले बताए ।

वाग्मती गाउँपालिकाले भने वडा नं ५ माचखण्डमा रहेका करीब २०० घरमध्ये ११ घरमा घरबास सञ्चालन गरी एउटा घरमा तीन पर्यटक रहन मिल्ने वातावरण तयार गरेको सो वडाध्यक्ष साजन दलार्मी मगरले जानकारी दिए । सो गाउँपालिका वडा नं ३ भट्टेडाँडा सातकन्या लेकमा रु एक करोडमा गरी वनभोजस्थल निर्माण गर्ने योजना अघि बढेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । उनले भने, “ गाउँपालिका वडा नं ७ चमरेगुफामा रु पाँच लाख लगानी गरी दुईदेखि तीन कोठाको होमस्टे निर्माणको योजना अघि बढाएका छौँ ।”