राजनीति

नेकपाले कहिले भेट्ला सभामुख ?, संसद बैठक ११ दिन सर्यो..

काठमाडौं । प्रतिनिधिसभाको बुधबारका लागि तय भएको बैठक ११ दिनपछि बस्‍ने गरि स्थगन गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको रिक्त सभामुखमा उम्मेदवार बनाउने सांसदको नाम छनोट गर्न नसक्दा भाेलिका लागि तय भएको प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ ।

मंगलबार संसद सचिवालयले सूचना जारी गर्दै बैठक पुस २७ गते दिउँसो १ बजे बस्‍ने गरी स्थगित गरिएको हो । बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसदको पाचौं अधिवेशन ४ पुसमा आह्वान गरेपछि पहिलो बैठक भए पनि दोश्रो बैठक बस्न सकेको छैन ।

बैठकको पहिलो एजेण्डा नै सभामुख चयन हुनुपर्ने तर सत्तारुढ दलले सभामुखको उम्मेदवार टुंगो नलगाएपछि २७ पुससम्मका लागि लागि बैठक स्थगित भएको हो ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखको अनुपस्थितीमा गत पुस ४ गते संसदको पाँचौं अधिवेशन सुरु गराएकी थिइन् । तर, त्यसपछि पुस ११ गते र पुस १६ गतेका लागि तय भएको बैठक सूचना टाँसेरै स्थगन गरिएको छ । 

स्रोतका अनुसार नेकपाभित्र पूर्वएमालेले सुवास नेम्वाङलाई सभामुख बनाउनुपर्ने अडान राखेको छ भने पूर्वमाओवादी अग्‍नी सापकोटाको पक्षमा छ । सभामुखमा नेम्वाङकै बढी सम्भावना देखिएको नेकपा स्रोत बताउँछ ।
 
तर, पूर्वमाओवादीले यसअघि सभामुख आफ्नै भागमा रहेको भन्दै पुनः आफैंले पाउनुपर्ने अडान लिएपछि विवाद पेचिलो बनेको छ । नेकपाले सभामुखको नाम टुंगो नलगाउँदा संसद बैठक समेत पटक-पटक सरेको छ ।