आर्थिक

एनसेलले बुझायो ४ अर्ब ५० करोड रुपैयाँ कर

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि निजी मोबाइल दूरसञ्चार कम्पनी  एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो ।  

तर एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ र ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको स्रोतले बताएको छ । एनसेलले दुई साताअघि नै बैंकहरूलाई पैसा तयार राख्न भनेको थियो ।

एनसेलले भने अनुसारको पैसा सबै बैंकले स्ट्यान्डर्ड चार्टर्डको खातामा जम्मा गरिदिइसकेका थिए । एनसेलको ठूलो रकम एभरेष्ट बैंकमा थियो । त्यसपछि नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन लगायतका बैंकसँग थियो । एनसेलले नेपाली र डलर दुबै खातामा रहेको निक्षेप चार्टर्ड बैंक सारेको थियो । 

एनसेलको लाभकरबारे सर्वोच्च अदालतले गत मंसिर ५ गते फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रूपैयाँ तिर्नुपर्ने प्रष्ट गरेको थियो। यसबाहेक यो रकम बुझाउँदाको दिनसम्मको शुल्क र ब्याज थप तिर्नुपर्ने भनेको थियो ।

किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने निर्णय गर्न बाँकी छ ।