पत्रपत्रिका

उखु किसानका विषयमा सरकारको नीति एकातिर र व्यवहार अर्कैतिरः ऋणमा र्चुलुम्म किसान

काठमाडौं । उखु उद्यमीले भुक्तानी नदिँदा सर्लाहीका १२ हजार किसान ऋणमा डुबेका छन् । उद्योगले पाँच वर्षसम्मको बक्यौताको साँवा पनि दिन मानेका छैनन् । तर, सहकारी र साहुबाट लिएको ऋणको ब्याजमाथि स्याज थपिएर किसानको उठिबास हुने अवस्था आएको छ ।

किसानको बक्यौता भुक्तान नगर्ने उद्योगी सम्पर्कमा ल्याइदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयलाई आइतबार नै पत्राचार गरेको हो । उद्योग र गृह मन्त्रालय सिंहदरबारभित्रै छन् । तर, उद्योगले आइतबार लेखेको पत्र गृहमा सोमबार मात्र पुग्यो । गृहले पनि तत्कालै कारबाही नगरेर मंगलबार मात्र प्रहरीलाई निर्देशन दिने तयारी गरेको छ । ‘हामीलाई उद्योग मन्त्रालयको पत्र प्राप्त भएको छ, किसानको भुक्तानी नगर्ने चिनी उद्योगी खोज्न मंगलबार प्रहरीलाई निर्देशन दिने तयारी छ,’ गृह प्रवक्ता केदारनाथ शर्माले बताए ।

उखु किसानका विषयमा सरकारले लिएको नीति एकातिर र व्यवहार अर्कैतिर छ । त्यसो त उखुको मूल्य उठाइदिने मात्र होइन, सरकारले अनुदान पनि दिने घोषणा गरेको छ । चालू आर्थिक वर्षको बजेटले उत्पादन परिमाणका आधारमा उखु किसानलाई अनुदान दिन ९५ करोड रुपैयाँ विनियोजन गरेको छ । तर, अहिलेसम्म उखु किसानले गत आर्थिक वर्षको समेत अनुदान प्राप्त गरेका छैनन् ।

अघिल्लो आर्थिक वर्षको नीति तथा कार्यक्रममा बाली लगाउनुपूर्व नै उखुको न्यूनतम समर्थन मूल्य तोक्ने घोषणा गरिएको थियो । तर, बाली काट्ने वेलामा समेत समर्थन मूल्य नतोक्ने प्रवृत्ति यस वर्ष पनि दोहोरियो । यसपालि पनि किसान आन्दोलित भएपछि अघिल्लो सोमबार मात्र मूल्य तोकिएको छ । तर, उद्योगले उखु लिने–नलिने निश्चित भएको छैन ।

सर्लाहीको धनकौल गाउँपालिका–२ मा सञ्चालित अन्नपूर्ण सुगर मिलले स्थापनादेखि उखुको भुक्तानी दिन आनाकानी गर्दै आएको छ । ०६८ देखि निर्माण सुरु भएको उद्योग ०७० देखि पूर्ण रूपले सञ्चालनमा आएको थियो । त्यही वर्षदेखिकै भुक्तानी उद्योगले अल्झाएको छ ।

स्थानीय राजकिशोर साहका अनुसार अन्नपूर्ण मिलले धनकौल बजार क्षेत्रका मात्र करिब आठ सयमध्ये एकजना किसानको मात्र भुक्तानी गरिएको छ । बाँकी किसानको एक करोड ७० लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । तर, किसानको समूह पैसा माग्न जाँदा उद्योगले जम्मा ३२ लाख मात्र भुक्तानी गर्न बाँकी देखाएको छ । ‘एक साताअघि हामी उद्योगमा गएका थियौँ, लेखाका कर्मचारीले ३२ लाखको मात्र हिसाब देखाउँदा हामी स्तब्ध भयौँ,’ उनले भने, ‘बजार क्षेत्रबाट एकजनाले मात्र पूरा पैसा बुझेका छन्, तर सबैले लिएको भनेर कागजात तयार गरी सरकारी कर्मचारीलाई समेत देखाइसकेका रहेछन् । उनीहरूले हामीलाई ठग्न खोज्दै छन् ।’

धनकौलका राजकिशोर यादवले ०७० देखि यता उद्योगलाई उखु बिक्री गरेकोमध्ये २७ लाख रुपैयाँ लिन बाँकी छ । रकम दिन उद्योगले आलटाल गर्दै आएको छ । ‘सात बिघामा उखु लगाउँदा र कटान गर्दा १२ लाख रुपैयाँ ऋण लागेको छ । उखु बेचेर पैसा भइहाल्छ नि भनेर ऋण लिने गरेका छौँ । तर, उखुको पैसा नपाउँदा ज्यालादारीमा मान्छेलाई लगाएको पैसा पनि तिर्न सकिएको छैन,’ राजकिशोरले भने ।

सरकारले तोकेको मूल्यमा उखु किनेका उद्योगले पैसा तिर्ने वेलामा बिचौलिया प्रयोग गरेर मूल्य घटाउँछन् । ऋणले पिल्सिएका किसान सोभैm घाटा व्यहोरेर पैसा लिन बाध्य छन् । स्थानीय रामआश्रय साहले दुई वर्षअघि ५३६।२८ रुपैयाँ प्रतिक्विन्टल दरले १४ सय क्विन्टल उखु अन्नपूर्ण सुगर मिललाई बेचेका थिए । माघमा बेचेको उखुको पैसा असोजसम्म धाउँदा पनि पाएका थिएनन् ।

त्यही वेला एकजना अपरिचित व्यक्तिले तीन सय ४० रुपैयाँ प्रतिक्विन्टलका दरले पैसा बुझ्ने भए तत्कालै दिन उद्योग तयार रहेको प्रस्ताव रायलाई सुनाए । लामो समयसम्म पैसा नपाउँदा उनले उखु काट्ने र ढुवानी गर्नेलाई पैसा दिन पाएका थिएनन् । त्यसैले थोरै दर स्विकारेर उनले पैसा लिए । ‘मैले सरकारी रेटमा नै उखु दिएको थिएँ, तर उद्योगीको तर्फबाट भन्दै एकजना आएर ३४० मा दिने भए अहिले नै पैसा दिन्छौँ भन्यो,’ उनले भने, ‘उखु काटेको र ढुवानी गरेको भाडा रकम तिर्न नसकेकाले क्विन्टलमा एक सय ९६ रुपैयाँ घाटा खान सहमत भएँ । तर, ११०० क्विन्टलको पैसा अझै पाएको छैन ।’

रामसेवक ठाकुरले ०७४ मा २३० क्विन्टल उखु मिललाई दिएका थिए । एक वर्ष ढिला गरी उद्योगले गत वर्ष ४२५ रुपैयाँका दरले दुई सय क्विन्टल उखुको मूल्य दिएको छ । ‘सरकारले तोकेको मूल्य पाउँछु भन्ने आसै छैन । उद्योगले धमाधम पैसा घटाएको छ, घटाएको पैसा पनि दिएको छैन,’ उनले भने ।

घरनजिकै अन्नपूर्ण चिनी मिल स्थापना भएपछि रामआश्रय रायले उखुखेती बढाएका थिए । ०७० मा उखुखेती विस्तार गर्न उनले ३६ प्रतिशत ब्याजमा पाँच लाख रुपैयाँ ऋण लिएका थिए । तर, उद्योगले ०७० देखिकै पैसा दिएको छैन । उता, पाँच वर्षमा उनको ऋण दोब्बर भएर १० लाख पुग्यो । सो ऋण तिर्ने कुनै उपाय नभएपछि उनले गत वर्ष एक बिघा जग्गा बेचेका छन् ।

सर्लाही स् ५० करोड भुक्तानी नगरेको अन्नपूर्ण सुगर मिलले किसानलाई धम्क्याउन उखु पेल्ने सिजनमा मिल बन्द गरेको छ

सरकारले बनाएको कार्यविधिमा चिनी मिलले किसानलाई बैंकमार्फत उखुको मूल्य भुक्तानी गर्नुपर्ने र त्यसको जानकारी जिल्ला भुक्तानी समितिलाई गराउनुपर्ने उल्लेख छ । तर, उद्योगले बैंकमार्फत त परको कुरा, नगदसमेत भुक्तानी गरेका छैनन् । पुरानो बक्यौता दिनुको सट्टा सर्लाहीको अन्नपूर्ण सुगर मिलले उद्योग बन्द गरेर किसानलाई झन् सताएको छ ।

बक्यौता उठाउन र उद्योग सञ्चालन गर्न माग गर्दै दुई साताअघि काठमाडौं आएका उखु किसान खर्च सकिएर छटपटिन थालेका छन् । तर, सरकारले केही निकास दिन सकेको छैन । दिनभर सडकमा धर्ना दिने किसान रात कवाडी गोदाममा कटाइरहेका छन् ।

उखु किसान मयाशंकर यादवलाई अन्नपूर्णले मात्र होइन, महालक्ष्मी चिनी मिलले पनि सताएको छ । उनी आफ्नो माग लिएर काठमाडौँमा छन् । ‘अन्नपूर्णसँग १८ लाख रुपैयाँ र महालक्ष्मीमा तीन लाख रुपैयाँ जति बाँकी छ । ६ वर्षदेखि पैसा दिएका छैनन्,’ उनले भने, ‘हामीले जिल्लामा बारम्बार आन्दोलन गर्‍यौं, अनशन पनि बस्यौँ, वार्ता पनि भयो । उनीहरू १० दिनमा भुक्तानी दिने, १५ दिनमा भुक्तानी दिने भनेर सम्झौता गर्छन् । तर, अहिलेसम्म दिएनन् ।’

मयाशंकरका दाइ बाबुलालको त घर नै लिलामीमा पर्न थालेको छ । बाबुलालले स्थानीय राजश्री सेभिङ एन्ड क्रेडिट सहकारीबाट आठ लाख रुपैयाँ ऋण लिएका थिए । ‘हाम्रो पैसा यता फसेको छ, ब्याज आउने कुरै छैन, साँवाको पनि डर छ । तर, हामीले लिएको ऋणको ब्याज बढेर सहकारीले घर लिलामीमा राख्न सूचना निकालेको छ,’ मयाशंकरले भने ।

६० वर्षीय किसान सीताराम महतोले उखु लगाउन ३० हजार ऋण लिएका हुन् । जसको ब्याज सयकडा तीनका दरले तिर्नुपर्छ । तर, उद्योगबाट लिनुपर्ने ६० हजार साँवा पनि पाउने–नपाउने ठेगान छैन । ‘आठजनाको परिवार छ, सबै किसानीमा छौँ, तर त्यही दुःखको मोल पनि नउठेपछि सर्लाहीमा धर्ना बस्यौँ ।

पैसा दिने सहमति पनि गरे, तर दिएनन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘उल्टै पाँच हजार ऋण खोजेर काठमाडौं आएको छु । त्यो पनि सकियो । सतुंगलको एउटा कवाडी गोदाममा साथीहरूसँग रात कटाइरहेको छु ।’ आपूmले पैसा लिएका साहुले अत्याउने र आफूलाई पैसा दिनुपर्ने साहुले सताउने गर्दा दोहोरो मर्कामा परेको उनले बताए ।

अर्का उखु किसान विन्देश्वर राय यादवले उखुको पैसा नउठ्दा खेत नै बेच्नुपर्ने अवस्था आउन लागेको बताए । ‘मिलबाट ६ लाख रुपैयाँ उठ्न बाँकी छ । दुई वर्षअघिदेखिको बक्यौता छ,’ उनले भने, ‘उखु लगाउन सयकडा तीनका दरले तीन लाख ऋण लिएको थिएँ, । साँवा, ब्याज गर्दा ऋण नै पाँच–६ लाख पुगिसक्यो होला । अब साहुले पैसा दिएन भने खेत बेचेर तिर्नुपर्छ ।’

६५ वर्षका महेन्द्र महतोको आफ्नै खेत धेरै छैन । उनले महाजनसँग एक लाख रुपैयाँ ऋण लिएर अर्काको डेढ बिघा खेतमा बटैया ९अधियाँ०मा उखुखेती गरेका हुन् । तर, उनलाई अन्नपूर्ण उखु मिलले तीन वर्षदेखिको भुक्तानी दिएको छैन । ‘१० जनाको परिवार छ । सबैजना हामी खेती–किसानीमै छौँ । पैसा नपाएपछि मैले यसपालिदेखि उखु रोप्न छाडिदिएँ ।

पैसा नै नपाएपछि किन खेती गर्नु रु’ उनले भने, ‘पैसा पाए साहुलाई तिर्छु, खेत त महाजनले लगिहाल्छ ।’ उनले लिएर आएको दुई हजार रुपैयाँ खर्च सकिएको छ । सर्लाही सिसौटियाका रामविलास महतोले पनि ३६ प्रतिशत ब्याजमा ऋण खोजेर उखु लगाएका हुन् । तर, मिलबाट आफूले पाउनुपर्ने तीन लाख रुपैयाँ तीन वर्षदेखि पाएका छैनन् ।

‘उता साहुको ब्याज बढेकोबढ्यै छ, यता उखुको भुक्तानी पाएको छैन । अब पैसा आयो भने पनि ऋण तिर्न पुग्दैन,’ उनले भने, ‘मेरो दुःख खेर गयो, अनाहकमा पसिना मात्रै बगाएँछु ।’ रामविलास र उनका साथीहरूले प्लेकार्ड बोकेर सोमबार बानेश्वरमा प्रदर्शन गरे । छातीको प्लेकार्डमा लेखिएको थियो, ‘माफ गर भगवान् किसान भएर जन्मेछु ।’ किसानले भुइँमा सुतेर प्रदर्शन गरेका थिए ।

उद्योगमन्त्री लेखराज भट्ट भन्छन्–चिनी उद्योगका मालिकलाई खोज्दै छौँ, किसानको पैसा दिलाउँछौँ

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसानले दुई सातादेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन्, उनीहरूको समस्या समाधान गर्न सरकारले के पहल गरेको छ ?

उहाँहरू मन्त्रालयमा आउनुभएको थियो, उहाँहरूको कुरा सुनेँ । बुझेर प्रक्रियामा जान्छु, जसरी पनि भुक्तानी गराउँछु, तपाईंहरू घर जानुस् भनेको छु । तर, उहाँहरूले पैसा नपाएसम्म नजाने भन्नुभएको छ । हामी त्यसका लागि प्रयास गरिरहेका छौँ ।

कानुनी प्रक्रियामा पनि गइसकेका छौँ । चिनी उद्योगका मालिकलाई खोजिरहेका छौँ । यसबारे गृह मन्त्रालयलाई पनि पत्राचार गरिसकेका छौँ । मालिकलाई खोज्छौँ, तत्काल नभेटिए अर्को विकल्पमा जान्छौँ ।

अर्को विकल्प के हो ?

अहिले हामीले सबै उद्योगबारे विस्तृत विवरण लिइरहेका छौँ । कसको उद्योग हो रु उद्योगमा कति चिनी स्टक छ रु उद्योगको जग्गा र मेसिनरी के कति छ रु सबै हेरिरहेका छौँ । उद्योगीले स्वस्फूर्त रूपमा किसानको पैसा भुक्तानी गरेनन् भने उद्योगको सम्पत्ति जफत गरेर भए पनि किसानको उखुको मूल्य भुक्तानी गराउँछौँ ।

किसानको पैसा भुक्तानी नगर्ने उद्योगीहरू मन्त्रालयको सम्पर्कमा छन् कि छैनन्  ?

केही उद्योगी सम्पर्कमा आएनन् । हामीले उनीहरूलाई सम्पर्कमा ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेका छौँ । अहिले महालक्ष्मी, अन्नपूर्ण र लुम्बिनी चिनी मिलका मालिकहरू सम्पर्कमा देखिएनन् । समस्या पनि यिनै उद्योगमा देखियो । अरूले भने तिर्छौँ भनेका छन् । किस्तामा तिर्ने वा कसरी तिर्ने भनेर छलफल गर्न चाहेका छन्, हामी समन्वय गरिदिन्छौँ ।

उद्योगबाट भुक्तानी नपाउने मात्रै होइन, सरकारले दिने अनुदानसमेत किसानले पाएका छैनन् नि ?

अब किसानले तत्काल अनुदान पाउँछन् । केही प्राविधिक कारणले त्यो अड्किएको रहेछ । कृषि र अर्थ मन्त्रालयसँग कुरा भइसक्यो । अनुदान अब तत्काल निकासा हुन्छ ।

 

                  नयाँ पत्रिकाबाट लिएको ।