अन्तर्राष्ट्रिय

फिलिपिन्समा मृत्यु हुनेको संख्या ४७ पुग्यो, ९ अझै बेपत्ता

एजेन्सी । फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबारसम्म मृत्यु हुनेको संख्या बढेर ४७ पुगेको छ भने अरु नौ जना अझै हराईरहेका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन परिषद्का अनुसार मध्य र उत्तरपूर्वी फिलिपिन्सका चार ठाउँमा मृत्यु हुनेहरुको कुल संख्या ४७ पुगेको हो ।

परिषद्का अनुसार इलोइलोमा १६ जना, कापिजमा ५ जना, अक्लानमा ५ जना, सेबु र दक्षिणी लेयाटमा १÷१ जना, लेयाटमा ५ जना, विलिरनमा १ जना, पूर्वी सामरमा ५ जना, सामरमा १ जना, ओरियन्टल मिन्डोरोमा ५ जना र अक्सीडेन्टल मिन्डोरोमा दुई जनाको मृत्यु भएको छ । घटनामा परी १४० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

प्रहरी र स्थानीय अधिकारीहरुले डुबानमा परेर, रुखले च्यापेर र विद्युतका कारण उनीहरुको मृत्यु भएको जनाएका छन् । हजाराँ व्यक्ति अझै पनि विस्थापित भएकोले उनीहरुलाई सहयोगको आवश्यकता भएको बताइएको छ ।

प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत् सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो । कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीले जनाएका छन् । त्यसैगरी सडक र विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्ध गरिएको थियो ।