अन्तर्राष्ट्रिय

सोमालियामा भएको आतङ्कवादी आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सोमालियाको राजधानीमा दर्जनौँ व्यक्ति मारिनेगरी भएको आतङ्ककारी कारवम विष्फोटको आइतबार निन्दा गरेको छ ।

शनिबार भएको उक्त आत्मघाती कारवम विस्फोटमा परी ७९ जनाको मृत्यु भएको थियो भने १४९ जना घाइते भएका थिए । राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“सबै किसिमका आतङ्कवाद र घटनाले अन्तराष्ट्रिय शान्ति तथा सुरक्षामा गम्भीर खतरा बढिरहेको छ ।

आतङ्कवादी आक्रमणबाट सिर्जना भएको चुनौतीको सम्पूर्ण तरिकाले सामना गर्नपुर्ने हुन्छ ।”परिषद्ले सम्पूर्ण राष्ट्रलाई सोमालियाको सरकारलाई सघाउन र घटनाको योजनाकार, आयोजक, आर्थिक लगानीकर्तालाई न्यायको कठघरामा उभ्याउन आग्रह गरेको छ ।

परिषद् सदस्यहरूले शान्ति, स्थायित्व तथा विकासका मुद्दामा सोमालियालाई सघाउने प्रतिवद्धता पुनः प्रकट गरेका छन् । आक्रमणले परिषद्को प्रतिवद्धतामा कुनै कमी नल्याउने पनि विज्ञप्तिमा भनिएको छ । शनिबार मोगादिशुको बाहिरी भागमा रहेको एक व्यस्त सडकको चोकमा आत्मघाती आक्रमण गरिएको थियो ।