खेलकुद

ए डिभिजन लिगमा आज च्यासल र जावलाखेल तथा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईज भिड्दै

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज (सोमबार) दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार चौथो चरणको खेल अनुसार सोमबार च्यासल र जावलाखेल तथा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पहिलो खेलमा च्यासल र जावलाखेल बिहान साढे ११ बजे भिड्न सुरु गर्नेछन् । दोस्रो खेलमा हिमालयन शेर्पा र ब्रिगेड दिउँसो ३ बजे भिड्नेछन् ।

लिगमा तीन खेलबाट च्यासलले एक जित, एक बराबर र एक हारबाट ४ अंक जोडेको छ । लिगमा अपराजित रहेको जावलाखेलको ५ अंक छ । यस्तै शेर्पा क्लब दुई बराबर र एक हार सहित २ अंक जोडेको छ । ब्रिगेड एक जित र दुई हार सहित ३ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।

च्यासललाई जावलाखेलको चुनौती

लिगमा अपराजित रहेको जावलाखेल चौथो चरणसम्म आईपुग्दा लयमा देखिन्छ । लिगमा तीन चरणको खेल सकिदाँ उसले हार ब्यहोर्नु परेको छैन । सोमबार उसले लिगको चौथो खेलमा च्यासल युथको सामना गर्दैछ । खेल एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे सुरु हुनेछ ।

लिग च्याम्पियन हुने लक्ष्य बनाएको च्यासललाई अपराजित जावलाखेलले कडा चुनौतीको प्रयास गर्नेछ । जावलाखेल युथविरुद्ध च्यासलका फरवार्ड सन्तोष साहुखल थोरै दबाबमा हुन सक्छन् । उनी घरेलु लिग फुटबलमा सय गोलको संघारमा छन् । लिग जित्ने लक्ष्य बनाएको च्यासलले तीन खेल सकिदाँ एक जित, एक बराबरी र एकमा हार ब्यहोरेको छ । च्यासल ४ अंक सहित लिगको आठौं स्थानमा छ ।

पहिलो खेलमा संकटालाई २–० ले पराजित गरेको च्यासल दोस्रो खेलमा मछिन्द्रसँग एक एक गोलको बराबरीमा रोकिएको थियो । तेस्रो चरणमा भने एनआरटीसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

लिग जित्ने लक्ष्य बनाएको च्यासललाई लिगको उपाधि होडमा फर्कन जित आवश्यक देखिन्छ । प्रशिक्षक बाल गोपाल साहुखल जावलाखेल युथविरुद्ध जित हात पार्ने लक्ष्य सहित मैदान उत्रने बताउँछन् । ‘जावलाखेल राम्रो टिम हो । सन्तुलित टिम छ । तर हामी जितको लागि खेल्छौं । लिग जित्न भनेर अगाडी बढेका छौं । खेलाडीमा आत्माविश्वास छ ।’ उनी भन्छन् ।

गत सिजन दुवै टिमले एक एक गोलको बराबरी खेलेका थिए । यता, अपराजित जावलाखेल पनि च्यासलसँग कडा चुनौती दिने बताउँछ । प्रशिक्षक नरेश गिरी बलियो च्यासलसँग आफ्नो टिम भिड्न तयार रहेको बताउँछन् । ‘च्यासल बलियो टिम हो । उसलाई राम्रो चुनौती दिन चाहन्छौं ।’ उनी भन्छन् ।

जावलाखेलले च्यासलविरुद्ध विदेशी खेलाडी ड्याडी जुनियरलाई गुमाउने छ । उनी दोहोरो पहेलो कार्डको कारण निलम्बनमा छन् । जावलाखेलले लिगको पहिलो खेलमा थ्रीस्टार र संकटासँग बराबर खेलेको छ । सरस्वतीलाई पराजित गरेको थियो । तीन खेल सकिदाँ जावलाखेल पाँचौं स्थानमा छ । च्यासल आठौं स्थानमा छ ।