पु.समाचार

बस्तीमा जङ्गली जनावरले पार्ने समस्या हल गर्न सरकारले सहयोग गर्छः मन्त्री बस्नेत

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वन्यजन्तुको उद्धार र व्यवस्थापनमा थप ध्यान दिनुपर्ने बताएका छन् । सदर चिडियाखानाको २४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले समयसमयमा मानव बस्तीमा आएर जङ्गली जनावरले समस्या पर्ने गरेको भन्दै उनले व्यवस्थापनको लागि अझ ध्यान दिनुपर्ने बताएका हुन् । उनले सरकारले आवश्यक सहयोग गर्ने समेत बताएका छन् ।

राष्ट्रिय प्राकृतिक संरक्षण कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री बस्नेतले भने,“व्यवस्थापनको लागि थप सिर्जनशीलताका साथ लाग्नुस् आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ । कार्यक्रममा चिडियाखानाका आयोजना व्यवस्थापक डा चिरञ्जीवीप्रसाद पोखरेलले थोरै क्षेत्रफलमा धेरै जीव जनावरको व्यवस्थापन गर्न कठिन भएको बताए ।

हाल चिडियाखानामा ११९ प्रजातिका एक हजार ९८ वटा जीव जनावर रहेको छ । ती प्रजातिमध्ये ३३ स्थनधारी ६१ चरा आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखानाबारे जान्न सहज होस् भनी डिस्प्लेमार्फत जानकारी दिन थालेको पनि कार्यक्रममा बताइएको थियो । रातो हाब्रे, बाघ, भालु, हात्तीलगायतका जनावर हाल दर्शकको मुख्य आकर्षण रहेको छ । वार्षिक ११ लाख जना दर्शक अवलोकन गर्न आउने यहाँ रु १५ करोडको आर्थिक कारोवार हुने गरेको छ ।