अन्तर्राष्ट्रिय

अमेरिकी सेनाको आक्रमणमा परी इराकमा १९ लडाकू मारिए

एजेन्सी । इराकको पश्चिमी क्षेत्रमा पर्ने अन्बार राज्यमा अमेरिकी सेनाले गरेको आक्रमणमा परी १९ भन्दा बढी मारिएका छन् । घटनामा परी अरु ३५ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । मारिएका र घाइते भएकाहरु हशद शाबी लडाकू समूहका सदस्य रहेको जनाइएको छ । सिरियासँगको सीमा क्षेत्रमा यो घटना आइतबार भएको सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।

लडाकू समूहले नियन्त्रणमा लिएका क्षेत्र र हातहतियारहरु लुकाईराखेको स्थानलाई लक्षित गरेर अमेरिकी सेनाले आक्रमण गरेको अधिकारीहरुले बताएका छन् । आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित इरानसमर्थित लडाकू शिविरमा आक्रमण गरेको जनाइएको छ ।

गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो भने कैयौँ अमेरिकी सेना तथा इराकी अधिकारीहरू घाइते भएका थिए ।