राजनीति

‘नेकपाले देशलाई उत्तर कोरिया बनायो, सिंहदरबारमा सर्वहाराको सरकार खै कहाँ छ ?’- प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाललाई उत्तर कोरिया बनाउन खोजेको गम्भीर आरोप लगाएका छन् । संसदको  विकास तथा प्रविधि समितिले बहुमतबाट पारित गरेको सूचना प्रविधि विधेयकप्रति असहति जनाउँदै शर्माले उक्त आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा आज(सोमबार) ट्वीट गर्दै शर्माले त्यस्तो विधेयकलाई ठाडै अस्वीकार गर्ने घोषणासमेत गरेका छन् । ‘सामाजिक सञ्जालमा कसैले जिस्क्याउँदा सम्झाउन वा सहन तयार छु, तर उसलाई जेल पठाउन म तयार छैन’, शर्माले ट्वीटमा लेखेका छन् ।

उनले विधेयकमा उल्लेख भएबमोजिम कसैले सामाजिक सञ्जालमार्फत जिस्काएमा पाँच वर्ष कैद र १५ लाख जरिमाना सही नभएको भन्दै त्यसको खुलेर विरोधमा उत्रन आव्हान गरेका छन् ।

शर्माले भनेका छन्, ‘पाँच वर्षसम्म कैद र जरिमाना १५ लाख, के यो सहि छ ? छैन भने खुलेर बोलौं, जमेर बोलौं’ पीएम नेपाल नागरिकले दिएको बहुमत देशलाई उत्तर कोरिया बनाउन थिएन, होइन र यो विधेयक ठाडै अस्वीकार्य छ ।’

शर्माले सामाजिक सञ्जालको निर्वाध प्रयोगमा अवरोध गरेर सरकारले उत्तर कोरिया बनाउन खोजेको भन्दै जनताले उत्तर कोरिया बनाउन नेकपालाई बहुमत नदिएको बताए ।

‘सिंहदरबारमा सर्वहाराको सरकार छ ?’, शर्माले प्रश्न गर्दै यसअघि गरेको ट्विटमा भनेका छन्, ‘उसो भए यी सर्वहारा किन छन् सिंहदरबार अघिको सडकमा ? उखुको भाउ तोकेर मात्र सरकारको कर्तव्य पूरा हुन्न । भुक्तानी नपाएर हजारौं उखु किसान सडक आन्दोलनमा छन् ।’

शर्माले उखु किसानको दर्द र दुःखप्रति ध्यान दिन आग्रह गरेका छन् । ‘चिनी तिनलाई तीतो बनेको छ भन्दै प्रधानमन्त्री समाचार मात्रै पढ्ने कि समाधानको पहल गर्ने ?’ भनी प्रश्न पनि गरेका छन् ।