सुदूरपश्चिम

जथाभावी सडक काटिँदा पहिराको जोखिम

डोटी । पछिल्लो समय जिल्लामा जताततै काटिएका सडकहरुले पहिरोको जोखिम निम्त्याउने खतरा बढेको छ । जिल्लाका स्थानीय तहले अन्य विकासभन्दा पनि सडक काट्ने काममा पहिलो प्राथमिकता दिएर धमाधम गाउँभरी नयाँ सडक काट्न थालेका छन् । जिल्लाको सबैभन्दा बढी जोरायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा नयाँ सडक काटिएको स्थानीयवासी बताउँछन् ।

दिपायल सिलगढी नगरपालिका, केआईसिंह, बडीकेदार, आदर्श, सायल, पूर्वीचौकी गाउँपालिका तथा शिखर नगरपालिकालगायतका ठाउँमा पनि धमाधम नयाँ सडक काटिन थालेका छन् । स्थानीय तहमा सडक गाउँमाथिबाट काटिएका कारण पहिरोको उच्च जोखिम बढेको जोरायल गाउँपालिका–१ का मोहनबहादुर मल्लले बताए । उनले भने, “अहिले काटिएका सडक गाउँमाथिबाट काटिएका छन्, जसले गर्दा पछि वर्षाद्को समयमा गाउँमा पहिरो आउने देखिन्छ ।”

बिना नाप नक्सा तथा डोजर अपरेटरको अनुमानको भरमा काटीएका यहाँका ग्रामीण सडकमा वर्षेनी दुर्घटना भइरहँदा सयौँ स्थानीयको अकालमै ज्यान जान थालेको सायल गाउँपालिकाका तेज डुम्रेलले बताउनुभयो । चुनावमा गरिएका बाचा पूरा गर्न जनप्रतिनिधिले सडक बनाइरहेको केआइसिंह गाउँपालिका दल्लका सेरबहादुर ऐरले बताए । उनले भने, “ यो त विकास भन्दा पनि नेताको बाचा पूरा गर्ने काम मात्रै भएको छ ।”

डोटीलगायत यहाँका अन्य पहाडी जिल्लामा वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै जथाभाबी धमाधम सडक काटिन थालेका छन् । वरपरका बस्तीलाई नै जोखिम पार्ने गरी सडक निर्माण गरिए पनि जनप्रतिनिधिको अगाडि कसैले केही गर्न नसकेको डिभिजन वन अधिकृत शम्भुप्रसाद तिवारीले बताए । विस्तृत योजना प्रतिवेदनको नाममा लगत स्टिमेट, लाभान्वित घरधुरी, कूल खर्च, सडकको चौडाइ र लम्बाइको अध्ययन गरिएको छ । तर वन क्षेत्रमा विकास निर्माण गर्दा वातावरणीय प्रभाव अध्ययन गर्नुपर्ने प्रावधान रहे पनि उक्त नियमको पालना नगरिएको वन कर्मचारीको आरोप छ ।

जथाभावी डोजर लगाउँदा यहाँको स्याउले दिपायल जोड्ने केआईसिंह तथा सिलगढी साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गका विभिन्न ठाउँका सडकहरु कटानको जोखिममा परेका छन् । सडक कटानको माटोले राजमार्गमा पहिरो बग्न थालेपछि जिल्लाका यी दुई राजमार्ग सङ्कटमा परेको स्थानीयवासी कर्ण चन्दले बताए । उनले भने, “राजमार्गको अस्तित्व नै मेटिने गरी सडक खनिँदैछन्, रोक्ने काम कस्ले गर्ने ।”

सडकभरी खाल्डाखुल्डी र ढुङ्गा जम्मा भएर पिच गरेको सडक सुख्खा पहिरोमा परिणत हुँदा दैनिक पहिरो हटाउँदै सवारीसाधन गुडाउनु पर्ने भएकाले दुर्घटनाको त्रास बढेको शैलेश्वरी यातायात व्यवसायी समितिका चालक मदन कामीले बताए । उनले भने, “राजमार्गमाथिबाट मनोमानि सडक कटान भएका कारण गाडी चलाउन समस्या भइरहेको छ ।” रु एक करोडभन्दा मुनिका योजनामा डोजर प्रयोग गर्न नपाउने नीति भए पनि त्यसविपरीत डोजर प्रयोग गरिएको स्थानीयको आरोप छ ।