बाग्मती

जग्गा विवादका उजुरी धेरै आएको छ- उपप्रमुख रमादेवी राई

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका न्यायिक समितिमा आर्थिक वर्ष २०७५–७६ मा ७५ उजुरी दर्ता भएको छ । समितिमा परेका उजुरी सबैभन्दा बढी जग्गा विवादको रहेको समितिका संयोजक तथा उपप्रमुख रमादेवी राईले बताइन् ।

उनका अनुसार अधिकांश उजुरी साँधसिमाना, एक जनाको हकको जग्गा अरुबाट भोगचलान, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी पर्ने गरेको छ । “सकेसम्म उजुरीहरु मेलमिलापको मध्यमबाट नै टुङ्ग्याउने गरेका छौँ, मिल्दै नमिल्ने मुद्दालाई मात्र अदालतमा पठाउने गरेका छौँ”, उपप्रमुख राईले भनिन् ।

उनका अनुसार आव २०७५/७६ मा परेका ७६ उजुरीमध्ये ५३ मिलापत्र गरिएको छ । ६ वटालाई अदालतमा सिफारिस गरिएको छ र १६ वटा फैसला भएको छ । व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी समितिमा नपरे पनि घरजग्गा विवाद, सम्बन्ध बिच्छेद, ढल बाटो निकास, साँधसिमाना मिचेको, ठगी, लेनदेनलगायत उजुरी परेको छ ।

आव ०७५/७६ मा ढल, बाटो निकासका चार उजुरी दर्ता भएको छ । त्यस्तै लेनदेन, बैनासम्बन्धी सात, वातावरण ध्वनि प्रदूषणसम्बन्धी चार, साँधसिमाना मिचेको सात, अन्तरकालीन आदेश एक, शान्तिसुरक्षा र ज्याला पाँच, घर पर्खाल निर्माण सम्पन्न छ, ठगीका आठ, पारिवारि तथा सम्बन्धबिच्छेदका २० र अन्य विविध आठ उजुरी दर्ता भएको छ ।

त्यस्तै चालु आव २०७६/७७ मा पनि उजुरी आउने क्रम बढिरहेको नगरपालिकाले जनाएको छ । चालु आवको साउनयता नगरपालिकामा ४० उजूरी दर्ता भएका छन् । दर्ता भएका धेरैजसो उजुरी घरजग्गा विवादसम्बन्धी छ । नगरपालिकामा चालु आवमा आठ घरजग्गा विवादको उजुरी, दुई सम्बन्धबिच्छेद, पाँच पारिवारिक विवाद, पाँच घरबहाल, एक शान्तिसुरक्षा ज्याला, दुई गालीगलोजसम्बन्धी र ११ विविध उजुरी लिखित रुपमा दर्ता भएको छ ।

समितिमा दुई कानुन व्यवसायी सदस्य छन् । समितिले यहाँ दर्ता भएका उजुरीको सुनुवाइका लागि प्रत्येक मङ्गलबार र शुक्रबार इजलास राख्दै आएको छ ।