पर्यटन/संस्कृति

‘नेपाल भ्रमण वर्ष सफल बनाउन जुट्यो काठमाडौ महानगरः राष्ट्रपतीले उद्घाटन गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन् ।

हाल कामपाले तार व्यवस्थापन, सम्पदामा रङरोगन गर्ने र अन्य सरसफाइको काम तीव्ररूपमा गरिरहेको छ । त्यस्तै शहरलाई कुरूप बनाई राखिएको विभिन्न किसिमका विज्ञापन हटाउनका लागि पनि कामपाबाट दैनिक चार टोली खटिएको छ । शहरको मुख्य स्थानमा विज्ञापन हटाउने कार्य सकिसकेको छ । काठमाठौँको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा यतिबेला तार व्यवस्थापनको कार्य सकिइसकेको छ भने अन्य स्थानमा पनि यस किसिमको काम भइरहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । ठमेलबाट मात्रै अव्यवस्थित रूपमा रहेको १६ गाडी तार व्यवस्थापनको कार्य सकिएको छ ।

प्रमुख शाक्यले रासससँग कुरा गर्दै भन्नुभयो, “काठमाडौँलाई सुन्दर बनाउने प्रमुख दायित्व कामपाको नै हो त्यसैले सोहीअनुरूप काम भइरहेको छ, । प्रमुख शाक्यले सम्बन्धित सबै वडाका वडाध्यक्षलाई सरसफाइ गरी पाहुनालाई स्वागत गर्न तयार रहन निर्देशन दिइसक्नुभएको छ ।

चार सम्पदाको स्वरूप फेरिँदै

काठमाडौँको मुख्य आकर्षणका रूपमा रहेका चार सम्पदा हनुमानढोका, स्वयम्भूनाथ, बौद्ध र पशुपतिनाथ मन्दिरलाई सुन्दर र आकर्षक बनाउन रङ लगाउने र सरसफाइको काम भइरहेको छ । प्रमुख शाक्यले कुराकानीकै क्रममा भने, “काठमाडौँ आउने पर्यटकमध्ये ९० प्रतिशतले यी चार सांस्कृतिक सम्पदाको अवलोकन गर्ने पाइएकाले सोहीअनुरूप सौन्दर्य अभिवृद्धिमा खटिएको हो ।

” सहकार्य गरेर मात्रै भ्रमण वर्ष सफल बनाउन सकिने भन्दै प्रमुख शाक्यले कामपासँग भगिनी सम्बन्ध भएका विभिन्न मुलुकका नगरलाई नेपाल भ्रमण गर्नका लागि निम्तो दिएको पनि जानकारी गराएका छन् । केन्द्र सरकारको भन्दा पनि भ्रमण वर्षलाई सफल बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले यसका लागि सबै स्थानीय तहनै जिम्मेवार बन्नुपर्ने बताए । सौन्दर्य अभिवृद्धिका लागि चालू आर्थिक वर्षमा कामपाले रु १० करोड विनियोजन गरेको छ ।

इन्द्रजात्रा अवलोकनले भ्रमण वर्षलाई सहयोग

पहिलो पटक कामपाले गत भदौ अन्तिम साता भएको इन्द्रजात्राको अवलोकन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरेको थियो । एघार देशका ४१ पहुनाले इन्द्रजात्राको मात्रै अवलोकन नगरी काठमाडौँ उपत्यकाको विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेकाले भ्रमण वर्षलाई थप सहयोग पुग्ने कामपाले विश्वास लिएको छ ।

उक्त समयमा पाहुनाले हनुमानढोका क्षेत्रमा रहेका सम्पदा, पशुपति मन्दिर, चन्द्रागिरि, पाटनको सङ्ग्रहालय, कृष्ण मन्दिर र भक्तपुरको पचपन्न झ्याले दरबारको अवलोकन गरेका थिए ।  जात्रा अवलोकन गर्न चीन, भारत, अमेरिका, भूटान र जापानका ११ शहरबाट ४१ पहुना आएका थिए । उक्त समयमा अवलोकन गरेका पाहुनाले पुनः नेपाल भ्रमणको लागि आउने बताएका थिए ।

भ्रमण वर्षको औपचारिक शुरुआत

सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरुआत आगामी बुधबारदेखि गर्ने तयारी गरेको छ । यही पुस १६ गते काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ र्गेभएकि छिन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रङ्गशालासँगै सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।

त्यस्तै जनवरी ७ तारिख ९पुस २२ गते० विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने कार्यक्रम तय भएको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ ।

तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ ।उद्घाटन कार्यक्रममा मार्चपास तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछन् । कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुन आग्रह गरिएको छ ।

मार्चपास तथा र्यालीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ । तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह दिउँसो तीन बजे शुरु हुनेछ । भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकका गरी ४० भन्दा बढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता उद्घाटनको दिन रहने छ ।

सरकारले भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।