समाचार

कानून उल्लङ्घन गर्नेलाई क्षमा दिनुहुँदैनः अन्सारी

काठमडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले सेवा दिने र लिने दुवैको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । आइतबार नेपालगञ्जमा भएको ‘व्यापार र मानवअधिकार’ विषयक छलफल कार्यक्रममा उनले कानूनको उल्लङ्घन गर्नेलाई राज्यले क्षमा दिनु हुँदैन भने ।

मानवअधिकार सबैका लागि बराबर हुन्छ भन्दै सदस्य अन्सारीले कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्ति नै मानवअधिकारको ठूलो शत्रुका रूपमा रहेको बताएका छन् ।

त्यस अवसरमा आयोगका नेपालगञ्ज प्रमुख चन्द्रकान्त चापागाईँ, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालगायतले पनि बोलेका थिए ।

कार्यक्रममा विभिन्न पेशा, व्यवसायका सञ्चालक, रोजगारदाता र समृद्ध सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो ।