बाग्मती

सुनको लागि आफ्नै मान्छेबाट बृद्ध महिलाको हत्या

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा एक बृद्धा महिलाको हत्याको आरोपमा कास्की प्रहरीले एक जना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कास्की रिभानकी ६७ बर्षीया चिजा विकको हत्या गर्ने म्याग्दी धवलागिरी गाउँपालिका ५ घर भई पोखरा २५ हेमजामा बस्दै आएका ३९ बर्षीय खिम बहादुर श्रीपालीलाई कास्की प्रहरीले आइतबार सार्बजनिक गरेको हो ।

तनहुँ व्यास नगरपालिका वडा नम्बर २ उत्तरसिला फिल्म हल नजिकै शनिबार उनलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्र्कीले जानकारी दिए । बृद्धा महिलाको गरगहना चोरेर उनको हत्या गरी फरार भएका श्रीपालीलाई तनहुँ र लेखनाथमा सुन बिक्रि गरेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रीपालीलाई कर्तव्य ज्यान र जबरजस्ती चोरी गरेकोले डाँका मुद्धा चलाईएको एसपी कार्कीले जानकारी दिए । यही पुष ८ गते बेलुका करिब ९ः४५ बजे रक्सि खादै राति नै ति वृद्धाको घरमा बास बस्ने उद्धेश्यले पुगेका श्रीपालीले चिजाको हत्या पश्चात शवलाई शिरकले छोपेर बाहिरबाट ढोकामा साँचो लगायर फरार भएको प्रहरीले जनाएको छ ।

चिजाको हत्या भएको स्थलमा करिब २ केजी तौल बराबरको ढुंगो समेत फेला परेको एसपी कार्कीले बताए । उक्त ढुंगाले चिजालाई टाउकोमा प्रहार गर्दा उनको हेड इन्जुरि भएर ज्यान गएको एसपी कार्कीले जानकारी दिए ।