खेलकुद

जैविक धार्मिक पर्यटनमार्ग म्याराथुन प्रतियोगिता हुने

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जैविक धार्मिक पर्यटनमार्ग म्याराथुन प्रतियोगिता आयोजना गर्ने भएको छ । यही पुस १५ गते हुन लागेको दोस्रो संस्करणको म्याराथुन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगितामा नगरपालिका क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका १८ वर्षमुनिका छात्र–छात्राका लागि पाँच किलोमिटर, महिला प्रतियोगिका लागि १५ किलोमिटर र खुलातर्फ २१ किलोमिटर दूरीमा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा भाग लिनका लागि छात्र ११० र छात्रा १०५ ले नाम दर्ता गराएका छन् ।

यसैगरी महिला २५ र खुलातर्फ १५० गरी जम्मा ३९० जनाले प्रतियोगितामा भाग लिनका लागि नाम दर्ता गराएको प्रतियोगिता आयोजक समितिका संयोजक हरकसिंह धामीले बताए ।

खुला प्रतियोगिताका लागि भीमदत्तनगर बजारको खुलामञ्चदेखि बजार नगरपालिकाको वडा नं ४, ६, ३ तिकलपुर हुँदै ब्रम्हदेव र छात्र–छात्राका लागि नगरपालिकाको वडा नं ३ तिलपुरको बैजनाथ मन्दिरदेखि तिलाचौरको चिल्ड्रेन पार्कसम्म र महिलाका लागि ब्रम्हदेवसम्मको दूरी तोकिएको छ ।

भीमदत्त नगरका प्रमुख सुरेन्द विष्टले पर्यटन प्रवद्र्धनसँगै खेलकूदको विकासका लागि प्रतियोगिता आयोजना गरिन लागेको बताउनुभयो । नगरप्रमुख विष्टले यस वर्ष अघिल्लो वर्षको तुलनामा प्रतियोगिताको पुरस्कारको राशि वृद्धि गरिएको जानकारी दिएका छन् ।

अठार वर्षमुनिका विद्यालयका छात्रछात्राका लागि यस वर्ष प्रथम हुनेलाई रु १५ हजार, द्वितीय हुनेलाई रु १२ हजार, तृतीय हुनेलाई रु १० हजार, चतुर्थ हुनेलाई रु आठ हजार, पाँचौँ हुनेलाई रु छ हजार ५०० र छैठौलाई रु चार हजार पुरस्कार दिइने भएको छ । महिलातर्फ यस वर्ष प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार र तृतीय हुनेलाई रु १२ हजार पुरस्कार दिइने छ ।

खुलातर्फ अघिल्लो वर्ष प्रथम हुनेलाई यस वर्ष प्रथम हुनेलाई रु ४० हजार, द्वितीय हुनेलाई रु ३० र तृतीयलाई हुनेलाई रु २० हजार पुरस्कार दिइनेछ । प्रतियोगितमा सहभागी हुनेहरुको आइतबार र सोमबार स्वास्थ्य परीक्षण गर्ने व्यवस्थासमेत नगरपालिकाले गरेको छ । स्वास्थ्य परीक्षणमा उत्तीर्ण हुनेलाई मात्रै प्रतियोगितामा सहभागी गराइनेछ ।