गण्डकी प्रदेश

लोप हुने खतरामा गण्डकी सभ्यता

गलकोट । नेपालको प्रमुख धार्मिक धरोहरका रूपमा रहेको धवलागिरिमा गण्डकी सभ्यता लोप हुने खतरामा परेको भन्दै सरोकारवालाले चासो र चिन्ता व्यक्त गरेका छन् । विश्वमा सभ्यताको विकास नदीहरुबाटै भएको पाइए पनि मानवीय लापरवाहीका कारण गण्डकी सभ्यता सङ्कटमा परेको उनीहरुको भनाइ थियो ।

निकै पुरानो सभ्यताको रूपमा रहेको गण्डकी सभ्यता लोप हुने खतरामा पुगेपछि अहिले सर्वत्र चासो र चिन्ताका बीच गण्डकी सभ्यता बचाउन प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिइएको छ । गण्डकी सभ्यतामा नदी किनारका पर्यटकीयस्थल, आसपासका बस्ती, बजार, घाट, धार्मिक सांस्कृतिक परम्परा, तीर्थस्थल, यहाँको जीवन पद्धति मूल्य मान्यतालाई उल्लेख गरिएको छ ।

साथै सभ्यताभित्र धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य विषय पनि समावेश छन् । धवलागिरि समाज नेपालले बागलुङ उद्योग वाणिज्य सङ्घ, धवलागिरि पर्यटन विकास समिति, बागलुङ पर्यटन विकास समिति र नेपाल पर्यटन बोर्डसँगको समन्वयमा शनिबार बागलुङ महोत्सवका अवसरमा आयोजना गरेको गण्डकी सभ्यता बचाऊ अभियान तथा धवलागिरिका पर्यटकीय पहिचान विषयक अन्तक्र्रियामा कार्यक्रमका सहभागीले गण्डकी सभ्यता जोगाउन सबैले ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा स्वामी ऋषि प्रपन्नाचार्यले कालीगण्डकी नदीको दोहन, शालिग्राम शिलाको चोरी निकासी तथा नक्कली शालिग्रामको कारोवारले धार्मिक सङ्कट पैदा गर्न थालेको बताएका छन् । “हामीले गण्डकी सभ्यता बचाउनका लागि विगतदेखि ठूलो प्रयत्न गरेका छौँ”, प्रपन्नचार्यले भने, “कालीगण्डकी नदीको अतिक्रमण, निर्माण भएका संरचना तथा शहरको ढलसमेत सिधै जाने अवस्थाले कालीगण्डकी पहिलेको वाग्मती जस्तो बन्ने खतरा छ ।

यसमा हामी सबै समयमै सचेत भएर अभियानमा सरिक हुन आवश्यक छ ।” उनले शालिग्राम लोप हुन थालेपछि सङ्ग्रहालयमा राखिएको समेत बताएका छन् । यही चासो र चिन्ताका बीच गण्डकी सभ्यता महाअभियान गत वर्षदेखि शुरु भएको छ । पवित्र कालीगण्डकी नदी तथा अन्य नदीमा मिसिन आउने खोला नदीको पनि सरसफाइमा सबैले ध्यान दिनुपर्ने आवश्यकता सहभागीले औँल्याएका थिए ।

जतिसक्दो छिटो गण्डकी सभ्यता बचाउन धवलागिरिसहित मुलुकभर अभियान नचलाउने हो भने त्यसले गण्डकीसँग जोडिएका सबै सभ्यता नास हुने अवस्था आउने उनीहरुले बताएका थिए । कार्यक्रममा गण्डकी सभ्यता बचाऊ महाअभियानका सहसंयोजक केदरनाथ गौतम र गण्डकी सभ्यता एवं धवलागिरि पर्यटन विकास समितिका अध्यक्ष तथा पर्यटन अभियानकर्मी खिमानन्द कँडेलले धवलागिरिको पर्यटकीय सम्भावनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

गण्डकी सभ्यता बचाउन सरकार, सरोकारवाला र नागरिक सबैलाई जिम्मेवारीवोध गराउन गण्डकी सभ्यता बचाऔँ महाअभियानअन्तर्गत महोत्सवका अवसरमा अन्तरक्रिया आयोजना गरिएको धवलागिरि समाजका महासचिव गोविन्दप्रसाद शर्माले बताए ।

“हामीले १०० वर्षपछिको गण्डकी सभ्यता कल्पनैै नगर्ने अवस्थाको हुनेछ”, शर्माले भने, “आजैदेखि पहल थालौँ, गण्डकी सभ्यता बचाउन लागौँ, यो हामी सबैका जिम्मेवारी हो ।”