पत्रपत्रिका

नक्कली भूकम्पपीडितले थाले रकम फिर्ता गर्नः १० करोड फिर्ता

काठमाडौँ । झूटा विवरण पेस गरेर रकम बुझ्ने नक्कली भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन् । अहिलेसम्म १० करोड ३ लाख ५० हजार फिर्ता भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ ।

१ हजार ८ सय ५५ जनाले रकम फिर्ता गरेको इकाइको तथ्यांक छ । ‘रकम फिर्ता गर्ने क्रम जारी छ,’ आयोजनाका इन्जिनियर सम्रक कर्माचार्यले भने, ‘फिर्ता गर्नेको संख्या अझै बढ्छ ।’ रकम फिर्ता गर्नेमा दोहोरो सुविधा लिने बढी छन् । दोहोरो सुविधा लिने १ हजार ५ सय ८२ जनाले रकम फिर्ता गरेका हुन् ।

‘दोहोरो सुविधा भन्नाले सरकार र गैरसरकारी संस्था दुवैबाट सुविधा लिने पर्छन्,’ उनले भने । सबैभन्दा बढी रकम सिन्धुपाल्चोकबाट फिर्ता भएको छ । यहाँका ४४६ जनाबाट २ करोड ४८ लाख रकम फिर्ता भएको हो । ‘यसमा कसैले दोहोरो सुविधा र केहीले रकम लगेर घर बनाउन नचाहेर फिर्ता गरेको रकम पर्छ,’ कर्माचार्यले भने, ‘केहीको भने बैंकमा जम्मा भएको रकम नबुझ्दा फिर्ता भएको छ ।

दोहोरो सुविधा लिएर फिर्ता भएको रकम ८ करोड ४७ लाख, रकम लगेर घर नबनाई फिर्ता भएको रकम १ करोड २२ लाख ५० हजार र बैंकमा जम्मा भएर पनि नलगेको रकम ३४ लाख रहेको प्राधिकरणले जानकारी दिएको छ । पहिलो किस्ता ५० हजार फिर्ता गर्ने १ हजार ७ सय ७२, दोस्रो किस्ता १ लाख ५० हजार फिर्ता गर्ने ६९ र तेस्रो किस्ता १ लाख रुपैयाँ फिर्ता गर्नेको संख्या १४ छ । झूटो विवरण पेस गरेर रकम बुझ्नेलाई प्राधिकरणले फिर्ता गर्न सूचना जारी गरेको थियो ।

रकम लगेर पनि घर नबनाएकाबारे बुझ्ने र पैसा लगेर फिर्ता नगर्नेलाई कारबाही अघि बढाइने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । ‘निजी आवास निर्माणमा ८६ प्रतिशत प्रगति छ, अब यसलाई बन्द गर्न दुई वटा रणनीति बनाएर अघि बढेका छौं,’ उनले भने, ‘अनुदान सम्झौता गरेर पनि पैसा नलिएकाले लिनुपर्‍यो । पैसा लगेर पनि घर नबनाउनेले रकम फिर्ता गर्नुपर्‍यो ।

’ ३१ जिल्लामा लाभग्राहीको संख्या ८ लाख १६ हजार ५ सय ६० छ । अनुदान सम्झौता गर्नेको संख्या ७ लाख ८० हजार १ सय ६५ छ । अहिलेसम्म पहिलो किस्ता लिने ७ लाख ६९ हजार ९ सय २६, दोस्रो किस्ता लिने ६ लाख २१ हजार ४ सय ४३ र तेस्रो किस्ता लिनेको संख्या ५ लाख २५ हजार २ सय १५ छ ।

पुनर्निर्माण भइरहेका घर १ लाख ८९ हजार ४१ र सम्पन्न भइसकेका घर ४ लाख ८२ हजार ३ सय २३ रहेको प्राधिकरणले जानकारी दिएको छ । प्रबलीकरणको सूचीमा रहेका लाभग्राही ६९ हजार ६ सय १४ छन्, जसमा अनुदान सम्झौता गर्ने ३८ हजार १ सय १ छ । त्यसमा पहिलो किस्ता बुझ्नेको संख्या ३७ हजार ६ सय ६८ छ ।

                                                                                                                                                                                                                                                                                                                कान्तिपुबाट लिएको