पत्रपत्रिका

नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको हिमागृह पनि यतीलाई दिन चलखेल सुरु

काठमाडौं । नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको हिमागृह पनि यती होल्डिङ्स प्रालिलाई दिन चलखेल सुरु भएको छ। पूर्वराजपरिवारको नामबाट ट्रस्टको स्वामित्वमा आएको पोखरा फेवाताल किनारमै अवस्थित १० रोपनी चार आना क्षेत्रफलमा फैलिएको हिमागृह र त्यसले चर्चेको जग्गा रिसोर्ट बनाउन यतीलाई दिन चलखेल भइरहेको स्रोतको दाबी छ।

सरकारको चाहनामा २०७३ वैशाख ८ गते आङछिरिङ शेर्पा स्वामित्वको यती समूहलाई हिमागृह र त्यसले चर्चेको जग्गा भाडामा दिने निर्णय भएको थियो। त्यतिबेला पनि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेका थिए।

नेपाल ट्रस्टका संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीकै चाहनामा त्यतिबेला हिमागृहको जग्गा यतीलाई भाडामा दिने निर्णय भएको ट्रस्टका एक अधिकारी स्मरण गर्छन्। हिमागृह र त्यसले चर्चेको जग्गा निजी क्षेत्रलाई दिएको विरोधमा आन्दोलन सुरु भएपछि यतीले प्रयोग गर्न नपाएको ती अधिकारीले बताए। तर अहिले ‘माथिको आदेश’ भन्दै त्यही निर्णय कार्यान्वयनका लागि ट्रस्टका उच्च अधिकारीहरू नै लागिपरेका छन्।

यती होल्डिङ्स प्रालिलाई गोकर्ण रिसोर्टको लिज अवधि थपसँगै हिमागृहसम्बन्धी पुरानो निर्णय कार्यान्वयनका लागि फेरि चलखेल सुरु भएको छ। अहिले ‘माथिको आदेश’ भन्दै त्यही निर्णय कार्यान्वयनका लागि ट्रस्टका उच्च अधिकारी नै लागिपरेका छन्।

‘यतीले त्यतिबेला त्यहाँ पाँचतारे होटल, अर्गानिक गार्डेन, क्लब र टुरिस्ट मार्केट खोल्नेलगायत प्रस्ताव गरेर हिमागृह प्रयोगमा ल्याउन खोजेको थियो,’ ट्रस्टका ती अधिकारीले भने, ‘व्यापारिक प्रयोजनका लागि दिइएको भनेर स्थानीयबाट विरोध भएपछि त्यतिबेला निर्णय कार्यान्वयन हुन पाएन। यतिलाई गोकर्ण रिसोर्टको लिज अवधि थपसँगै हिमागृहसम्बन्धी पुरानो निर्णय कार्यान्वयनका लागि फेरि चलखेल सुरु भएको छ।’

नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले ट्रस्टको स्वामित्वमा रहेको हिमागृहसमेतको जग्गामा रिसोर्ट खोल्न दिने तयारी भइरहेको बताए। उनले ट्रस्टको सम्पत्ति उपयोग गरेर आयआर्जन गर्न पोखरास्थित हिमागृह, नारायणगढस्थित दियालो बंगलासमेतमा रिसोर्टलगायत पूर्वाधार खोल्न दिने तयारी भइरहेको स्पष्ट पारे। हिमागृहसमेत कसलाई दिन खोजिएको हो भन्ने विषयमा भने उनले प्रस्ट पारेनन्।

ट्रस्टका सूचना अधिकारी अमृत महर्जनले ट्रस्टले हिमागृहको जग्गा २०७३ सालमा नै यतीलाई दिने निर्णय गरेको बताए। त्यतिबेला पोखराका स्थानीयको विरोधपछि निर्णय कार्यान्वयनबाट ट्रस्ट ‘ब्याक’ भएको उनले बताए। हिमागृहलगायता ट्रस्टका सम्पत्तिका विषयमा अब के गर्ने भनेर अध्ययन भइरहेको जानकारी महर्जनले जानकारी दिए। ट्रस्टको स्वामित्वमा रहेको हिमागृह, रत्न मन्दिरलगायत सम्पत्तिको अवोलकन गर्न ट्रस्ट सञ्चालक समिति सदस्यहरू केही समयअघि पोखरा गएको उनले बताए ।

उनका अनुसार नेपाल ट्रस्ट सञ्चालक समितिका सदस्यहरू सीताराम सापकोटा, योङजोम शेर्पा, प्रवीणराज दाहाल र सदस्यसचिव राजेश्वर ज्ञवालीलगायत पोखरा पुगेर अवलोकन गरी फर्किएका थिए। सञ्चालक समतिका सदस्यहरू हिमागृह अध्ययनका लागि भनेर गएको भन्न नमिल्ने उनको तर्क छ।

तत्कालीन राजा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रम शाहका नाममा हिमागृह बनेको थियो। २०३८ पुस ९ मा तत्कालीन अधिराजकुमार हिमालयले पत्नी प्रिन्सेप शाहलाई उक्त घर उपहार दिएका थिए ।

२०४६ कात्तिक १० गते प्रिन्सेपबाट राजा वीरेन्द्रका नाममा हक कायम गरिएको हिमागृह २०६५ सालमा नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो। मन्त्रिपरिषद्ले २०६४ असोज २१ गते हिमागृह ट्रस्टमातहत ल्याउने निर्णय गरेको थियो। नेपाली सेनाले संरक्षण गरिरहेको हिमागृहलाई संग्रहालयमा रूपान्तरण गर्नुपर्ने आवाज उठिरहेको छ।

                                                         

                                                                                                                    नागरिकबाट लिएको