अन्तर्राष्ट्रिय

यूक्रेन र डोनेट्स्क लडाकूबीच आइतबार कैदी आदानप्रदान हुनेः जेलेन्स्की

एजेन्सी । यूक्रेनी अधिकारीहरूले डोनेट्स्क क्षेत्रमा स्वतन्त्रताको माग गर्दै सङ्घर्ष गर्दै आएका रूस पक्षधर विद्रोहीसँग आइतबार दर्जनौँ कैदीहरू आदानप्रदान गर्न लागिएको बताएका छन् ।

पेरिसमा भएको उच्च स्तरीय शान्तिवार्तामा आधारित रहेर पछिल्लो कदम चाल्न लागिएको यूक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताए । यूक्रेनको पूर्वी क्षेत्रमा डोनेट्स्क र लहान्स्कलाई यूक्रेनबाट स्वतन्त्र बनाउने लडाइ लड्दै आएका उनीहरूलाई रूसको समर्थन रहँदै आएको यूक्रेनको दावी छ ।

उनले भने, “आइतबार कैदीको आदानप्रदान हुनेछ । यसको प्रतिक्षामा हामी छौँ । आदानप्रदान गरिने कैदीको नाम चयन भैरहेको छ ।”

शनिबार नै यसअघि डोनेट्स्का विद्रोहीका प्रवक्ता दारिया मरोजोभाले पनि कैदी आदानप्रदान हुन लागेको बताउनुभएको थियो । मरोजोभाका अनुसार लुगान्स्कले आफ्ना नेता,कार्यकर्ता तथा लडाकू गरी ८७ जना फिर्ता हुने र ५५ किभतर्फका कैँदी फिर्ता गरिनेछ ।

कैदीको आदानप्रदान विद्रोहीको प्रभाव क्षेत्र गोर्लिभ्का नगर नजिकै हुने अनुमान गरिएको छ । यसपहिले रूस र यूक्रेनबीच पनि केही कैँदीको आदानप्रदान भएको थियो ।