खेलकुद

तीन महिना भित्र निर्वाचन गर्न खेलकुद संघलाई राखेपको निर्देशन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कार्यकाल सकिएका खेलकुद संघलाई तीन महिना भित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।

परिषद् दर्ता भएका सम्पुर्ण संघलाई पत्राचार गर्दै राखेपले चार बर्षको कार्यकाल समाप्त भएका संघलाई कार्यकाल सकिएको मितिले एक महिना भित्र निर्वाचन गर्ने मिति तोकेर तीन महिना भित्र संघको साधारण सभा तथा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको हो । राखेपका संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले खेल संघलाई पत्र लेख्दै समयमै कार्य सम्पादन गर्न आग्रह गरेका छन् ।

यस्तै, खेलकुद ऐन अनुसार परिषद्मा दर्ता भएर अध्यावधी नगराएका, लामो समयदेखि बार्षिक खेलकुद कार्यक्रम तथा बार्षिक लेखा परिक्षण प्रतिवेदन नबुुझाएका, प्रत्येक बर्ष संघको साधारण सभा नगरेका, प्रत्येक चार चार बर्षमा सम्बन्धित जिल्ला संघ गठन गरेर निर्वाचन प्रक्रियामा नगएका र प्रत्येक बर्ष संघको नविकरण समेत नगर्ने संघले राखेपबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनुपर्ने बताईएको छ ।

परिषद्ले व्यवस्थित र पारदर्शी नभएका संघलाई सेवा सुविधा लगायत बार्षिक अनुदान तथा वैदेशिक प्रतियोगितामा समेत सहभागी गराउन बाध्य नहुने प्रष्ट पारेको छ ।  संघ संस्था समन्वय शाखा प्रमुख श्रेष्ठले सम्पुर्ण संघलाई मिलाएर लैजाने अभिप्रायले पत्राचार गर्दै निर्वाचनको निर्देशन दिईएको खेलपाटीलाई बताए ।

सबै संघहरुले नियम कानुन मानेर जाओस भन्ने हो । निर्वाचन नगरेकालाई नियमबद्व रुपमा लैजादा राम्रो हुन्छ । उनले भने ।