पु.समाचार

चोटपटकको अवधारणा सम्बन्धि कार्यशाला

काठमाडौं  । काठमाडौं मेडिकल कलेज स्थित नेपाल इन्जुरी अनुसन्धान केन्द्रले पुषको १२ गते, २०७६ मा कीर्तिपुरको कीर्तिपुर हिल्साइड रिसोर्टमा “चोटपटकको अवधारणा” विषयमा एकदिने कार्यशाला आयोजना गरेको छ ।

तथ्यांकहरुले देखाए अनुसार “इन्जुरी”शब्दले कुनै बाह्य एजेन्टहरूद्वारा शरीरमा जानीजानी वा अन्जानमा हुने विभिन्न प्रकारको क्षतिहरू भन्ने जनाउँछन् । साथै विभिन्न उच्च आय भएका देशहरूमा “एक्सिदेन्त”भन्ने शब्दले भाग्य वा गलत समयमा र गलत ठाउँमा हुने क्षति जनाउने भएकोले सो शब्दको प्रयोग गर्न रुचाइँदैन । यद्यपि यो बारेमा नेपाली जनताको धारणा थोरै मात्रै थाहा छ ।

तसर्थ नेपाली समाजमा इन्जुरीको बुझाइ तथा अवधारणा राम्रोसँग बुझ्नु यस कार्यशालाको मुख्य उद्देश्य रहेको छ ।सो कार्यशालामा मानवशास्त्री, समाजशास्त्री, सामाजिक कार्यकर्ता, स्कूल शिक्षक, नर्स, डाक्टर, महिला स्वास्थ्य स्वयंसेविका (एफसीएचभी), जनस्वास्थ्यकर्मी र स्थानीय उद्यमीहरू जस्ता विविध पृष्ठभूमिबाट ३४जना सहभागीहरु थिए ।

कार्यशालाको शुरुवातमा नेपाल इन्जुरी अनुसन्धान केन्द्रका निर्देशक तथा काठमाडौ मेडिकल कलेज कम्यूनीटि विभागका प्रमुख प्रा. डा. श्री सुनीलकुमार जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रा. जोशीले काठमाडौं मेडिकल कलेज नेपालमा चोटपटक रोकथामका लागि सदैव प्रतिबद्ध रहेको जोड दिँदै नेपाल इन्जुरी अनुसन्धान केन्द्र (एनआईआरसी) ले जन मानसमा यस सम्बधिको अवधारणा अन्वेषण गर्न नै आजको यो कार्यशाला आयोजित गरिएको हो भनि जानकारी दिनुभयो । त्यस पश्चात प्रोफेसर मधुसुदन सुवेदीको नेतृत्वमा तथा नेपाल इन्जुरी अनुसन्धान केन्द्रका अनुसन्धानकर्ताहरुद्वारा कार्यशाला सचांलन गरिएको थियो ।

सहभागीहरूलाई स्वास्थ्य समूह, समाजशास्त्री, मानवशास्त्री र सामुदायिक स्वास्थ्यकर्मीहरू गरी चार समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट चोटपटकको बारेमा आफ्नो दृष्टिकोण र रोकथाम गर्ने उपायको बारेमा प्रस्तुती दिइएको थियो । सहभागीहरूको सक्रिय सहभागिता तथा छलफल मार्फत चोटपटकका विभिन्न सामाजिक र चिकित्सकिय दृष्टिकोण माथि प्रकाश पार्न यो कार्यशाला सफल भयो । धेरैजसो सहभागीहरूले शारीरिक चोटलाई मात्र नभइ मानसिक चोटपटकलाई पनि जोड दिए । साथै चोटपटकका कारणमा विभिन्न सामाजिककारकर मानव व्यवहारको भूमिकाको बारेमा छलफल गरियो ।

त्यसैगरी चोटपटकको रोकथामको लागि कानुन र नियमको कार्यान्वयनको आवश्यकता, विद्यालयको पाठ्यक्रममा चोटपटक रोकथामको एकीकरण र सामूहिक जागरूकताका लागि सडक नाटकको उपयोगिता जस्ता कुराहरुमा पनि जोड दिँदै यो कार्यशाला सम्पन्न भयो ।