पु.समाचार

वडा कार्यालय भवन निर्माण

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका पाँच वटा वडा कार्यालय भवन युरोपियन शैलीमा निर्माण गरिएका छन् । नगरपालिकाले रु एक करोड बढीको लागतमा युरोपियन शैलीका अत्याधुनिक भूकम्प प्रतिरोधी भवन निर्माणको कार्य पूरा गरेको हो ।

“आर्थिक वर्ष २०७५÷७६ मा ठेक्का प्रक्रियामार्फत पाँचवटै वडा कार्यालय भवन निर्माणको कार्य शुरु गरेका थियौँ”, नगरप्रमुख कर्णबहादुर हमालले भने, “चालू आवमा भवन निर्माणको कार्य पूरा भएको छ ।” निर्माण भएका वडा नं १, ३, ४, ५ र ७ का वडा कार्यालय भवन युरोपियन शैलीमा निर्माण गरिएको उन्ले बताए।

निर्माण कार्य पूरा भएका वडा कार्यालयका भवनमा सभाकक्ष, कार्यालय प्रयोजनका कक्ष, जनप्रतिनिधिका लागि अलग्गै कक्ष, सुविधा सम्पन्न शौचालय, स्नान कक्षलगायत रहेका छन् । दुईतले भवनमा आठ कोठा छन् । भवनमै सवारीसाधन पार्किङस्थल निर्माण गरिएको छ ।

नगरप्रमुख हमालले भने, “भाडाका घरमा प्रयाप्त कोठा नहुँदा कार्यालय सञ्चालन गर्न अप्ठरो त छदै थियो । सेवाग्राहीलाई सेवा दिनसमेत कठिन थियो । नयाँ भवन निर्माणसँगै कार्यालयको समस्या हटेको छ ।” भवन निर्माणले सर्वसाधारणलाई सेवा सुविधा सहज रुपमा दिन सकिने उनको भनाइ रहेको छ ।

चालू आवमा बाँकी चार वटा वडा कार्यालय भवन निर्माणको कार्य अगाडि बढाइएको छ । वडा नं २, ६, ८ र ९ को निर्माण कार्यका लागि ठेक्का भई भवन निर्माणको कार्य शुरु गरिएको छ । भवन निर्माणका लागि रु एक करोड बढीको ठेक्का भए पनि पहिलो चरणमा प्रत्येक भवनका लागि रु २३ लाख रकम प्रदान गरिएको छ । भवन निर्माणका लागि आवश्यक अन्य रकम सङ्घीय सरकारबाट प्राप्त कोषको रकमबाट व्यहोरिने नगरप्रमुख हमालको भनाइ छ ।

अत्याधुनिक आर्कषक शैलिका वडा कार्यालय भवन निर्माण गर्ने नगरपालिका जिल्लामै पहिलो कृष्णपुर भएको छ । वडा कार्यालय भवनसँगै अत्याधुनिक शैलीको नगरपालिका कार्यालय भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । रु तीन करोड बढीको लागतमा निर्माण भई रहेको नगरपालिका कार्यालय सुविधा सम्पन्न रहेको छ ।