कृषि

तरकारीले आत्मनिर्भर बन्दै थारु महिला

बाँके । रोजगारी नभएको भन्दै पछिल्लो समय थुप्रै युवा विदेश पलायन भइरहेका छन् तर बर्दियाका थारु समुदायका महिलाले घरमै रोजगारीको सिर्जना गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–६ भदैयाका थारु महिला घरमै व्यावसायिकरूपमा तरकारी उत्पादन गरी आत्मनिर्भरको बाटोमा छन् । तरकारी बेचेरै परिवारको खर्च धान्ने थारु महिलाले मासिक रु ३५ हजारसम्म कमाउने गरेका छन् ।

उनीहरू नेपालगञ्जको धम्बोझीमा ल्याएर आफूले उत्पादन गरेको तरकारी बेच्ने गर्छन् । एकदिनको अन्तरमा उनीहरु बर्दियाबाट नेपालगञ्ज तरकारी बेच्न आउँछन् । धम्बोझी चोकमा बिक्री नभएको तरकारी नेपालगञ्जका घरघरमा पु¥याएर बेच्छन् । समूह बनाएर एकाबिहानै घरबाट दिउँसोको खाना र बिक्री गर्ने तरकारी बोकेर निस्कने थारु महिला साँझ मात्रै घर फर्किन्छन् । खाना नल्याएको दिन होटेलमा खाजा नास्ता खान्छन् । चार÷पाँच वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्न थालेका थारु महिला मौसमअनुसारको तरकारी नेपालगञ्ज, खजुरा, कोहलपुरलगायतका बजारमा पुगेर बेच्ने गर्छन् ।

एक दशकसम्म कमैया बसेकी भदैयाकी मनरानी थारु कमैया मुक्त घोषित भएपछि सरकार दिएको जग्गामा व्यावसायिकरूपले विगत पाँच वर्षदेखि तरकारी खेती गरिरेही छिन् । आठ कठ्ठा जग्गामा तरकारी खेती गरेर नै उनले पाँच जनाको परिवार पालेका छन् ।

मासिक रु ३५ हजारसम्म कमाउने गरेको बताउँदै उनले भनिन्, “पहिले सामान्य खर्च टार्न पनि ऋण लिनुपथ्र्यो । अहिले परिस्थिति फेरिएको छ । छोराछोरीलाई पढाउने, घरखर्च चलाउने काम आफ्नै परिश्रमबाट पूरा भएको छ ।” उनले तरकारी बेचेरै गाउँमै चार कठ्ठा जग्गा पनि किनिसकेको बताएकी छिन् । आजभोलि उनको बारीमा धनियाँ, काउली, बन्दा, आलुलगायतका सागपात फलेका छन् ।

उनि आफ्नो बारीमा फलेका तरकारी र भएको कमाइबाट पूरा सन्तुष्ट रहेको बताउछन् । गत वर्ष फागुनमा मात्र ६० क्विन्टल आलु उत्पादन गरेको उहाँले जानकारी दिएका छन् । ठूलो आलु बिक्रीका लागि नेपालगञ्ज, खजुरा र कोहलपुर पठाउने गरेको र सानो आलु घरघरमा पुगेर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । आफ्ना उत्पादन बिक्री गर्न गाउँबाट समूह बनाएर निस्किने गरेको उनले बताए ।

थारु समुदायको लोकप्रिय ‘थारु आलु’ अहिले पछिल्लो समय कम पाइन थालेको छ । थारु आलु कम र सानो फल्ने भएकाले लोप हुँदै गएको उनको भनाइ छ । “कमैया बस्दा धेरै दुःख भोग्नुपर्यो, आजभोलि आफ्नै बारीमा काम गर्न थालेपछि धेरै खुशी छु”, उनले भनिन् ।

गाउँबाट तरकारी बोकेर नेपालगञ्ज आउने थारु महिलाले बस भाडाबापत प्रतिबोरा रु १५ सम्म तिर्ने गर्छन् । आवतजावतमा रु १०० खर्च हुने भए पनि तरकारी बेचेर एक जनाले दैनिक रु एक हजार ५०० सम्म कमाउने गरेका छन् ।

भदैयाकै ज्ञानी थारुले पनि पाँच कठ्ठामा तरकारी खेती गर्दै आएका छन् । उनको बारीमा मौसमअनुसारको तरकारी उत्पादन भइरहन्छ । तरकारी खेती गरेरै छ जनाको परिवार पालेको उनले बताए । तरकारी खेती गर्न उनलाई श्रीमान्ले पनि साथ दिएका छन् ।

श्रीमान्ले घरको काम हेर्ने र आफू गाउँगाउँमा पुगेर तरकारी बेच्ने गरेको उनले बताए । बारीबाटै बेच्नुभन्दा घरघरमा तरकारी बेच्दा नाफा धेरै हुने उनको भनाइ छ । “हामीहरु घरघरमा पुगेर तरकारी बिक्री गछौं श्रीमान्ले खेतबारीमा सिँचाइ गर्ने, तरकारी गोडमेल गर्ने काम गर्नुहुन्छ”, ज्ञानीले भने । आफ्नो बारीमा तरकारी उत्पादन नभएका बेला अरुको करेसाबारीको तरकारी खरिद गरेर बिक्री गर्न घरघरमा पुग्ने गरेको उनले बताईन् ।

स्थानीयले उत्पादन गरेको तरकारी जैविक हुने भएकाले सबैले मन पराउने गरेको थारु महिला बताउँछन् । विषादीरहित तरकारी उत्पादन गर्ने गरेकाले आफ्नो तरकारी सहजै बिक्री हुने गरेको उनीहरुको भनाइ छ । भदैयाकै रामपति थारुले पाँच कठ्ठामा तरकारी खेती गर्नुभएको छ । गत वर्ष मात्रै उनले ३० क्विन्टल आलु उत्पादन गरेको बताएका छन् । गाउँमा भन्दा घरघरमा पुगेर तरकारी बिक्री गर्दा दोब्बर नाफा हुने गरेको रामपतिले बताए ।

उनले पनि तरकारी खेती गरेरै चार जनाको परिवार पालेका छन् । काम गर्न थालेपछि आर्थिक सङ्कट टर्दै गएको र जीवन चलाउन सहज भएको उनले बताएका छन् । तरकारी खेती गर्न थालेपछि घरखर्च सहजरूपमा चल्नुका साथै छोराछोरीलाई पढाउन सहज भएको उनको भनाइ छ । बढैयाताल गाउँपालिका–६ का करिब ३० जना महिला समूहमा आबद्ध भएर तरकारी खेती गरिरहेका छन् ।