शिक्षा

बीबीएस चौथो वर्षमा एडमार्ककी मञ्जिला प्रथम

काठमाडौं । एडमार्क कलेजकी छात्रा मञ्जिला त्रिपाठी बीबीएस चौथो वर्षमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी छिन् । यस अवसरमा कलेजले गत शुक्रबार स्वयम्भूको होटल मिस्टिक बुद्धमा उत्कृष्ट नतिजाका साथ उत्तीर्ण हुने सबै विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरी खुसी साटासाट गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि त्रिविविका परीक्षा नियन्त्रक पुष्पराज जोशी, विशिष्ट अतिथि सहायक परीक्षा नियन्त्रक विष्णु वाग्ले, सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तमप्रसाद अधिकारी एवं कलेजका प्रमुख शिवप्रसाद अधिकारीले उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई माल्यार्पणका साथ प्रमाणपत्र प्रदान गरे ।

पुरस्कृत विद्यार्थीमा चौथो वर्षकी टीयू टपर मञ्जिला त्रिपाठी एवं उत्कृष्ट नतिजा ल्याउन सफल निरोज गडतौला, रितेशकुमार झा, शिला खतिवडा हुन् । यस्तै कलेजकी मेधावी छात्रा शलिना श्रेष्ठलाई पनि हालै सम्पन्न तेह्रौँ दक्षिण एसियाली खेलकुदमा महिला भलिवलतर्फ आफ्नो उत्कष्ट खेल कौशल प्रदर्शन गरी शिल्भर मेडल जित्न सफल भएकामा प्रमाण पत्र प्रदान गरी ससम्मान बधाई ज्ञापन गरिएको थियो ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि जोशीले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमध्येबाट सबैभन्दा बढी विद्यार्थी भर्ना गरी उत्कृष्ट नतिजा ल्याउन सफल भएकामा एडमार्क कलेजलाई बधाई ज्ञापन गरे । विशिष्ट अतिथि विष्णु वाग्लेले पढेर जागिर खाने मात्र होइन, अरूलाई जागिर सिर्जना गर्ने सोच विद्यार्थीमा हुनुपर्ने धारणा राखे ।

मन्तव्यकै क्रममा कलेजका प्रमुख शिवप्रसाद अधिकारीले बधाई ज्ञापन गर्दै मेहेनत र लगनका साथ अघि बढ्न प्रतिभावान् सबै विद्यार्थीलाई सुझाव दिए ।

कार्यक्रममा कलेजका अध्यापक एवं विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमको दोस्रो सत्रमा कलेजका प्रतिभाहरूले गीत, संगीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रममा रौनकता थपेका थिए ।

एडमार्कमा कक्षा ११, १२, स्नातक एवं स्नातकोत्तर तह एमबिएसका विभिन्न संकाय गरी २२ सय विद्यार्थी अध्ययनरत छन् ।