साहित्य

म उस्तो कि मेरो ऐना उस्तो !!

-कबिता                                                                                                                        फणिन्द्र पोख्रेल
म उस्तो कि मेरो ऐना उस्तो !!
**********************
म उस्तो कि मेरो ऐना उस्तो,
म रनभुल्लमा छु ।
मेरो अगाडि मेरो पुर्ण कद देखाउने
एउटा ठूलो ऐना छ ।
म त्यस्मा जे हेर्न खोज्छु,
ठीक उल्टो देखिन्छ ।
सफा संग सजाएर राखेको 
त्यो ऐनाको  परिदृश्यमा,
म मेरो देशको बिकास हेर्न चाहान्छु,
तर त्यस भित्र बिनासका दृश्य मात्र देखिन्छन ।
म शृङ्खला बद्ध निर्माणका सपना देख्छु,
ऐनाले अस्त ब्यस्त र भताभुङ्गताका
अटुट शृङ्खला मात्र देखाउछ ।
म एकताको सिंङ्गो मैदान हेर्न खोज्छु,
प्रतिबिम्बले बिभाजनका चीरा मात्र देखाउँछ।
हिमाल देखि  तराई सम्म अनि,
मेची देखि काली सम्मको अखण्डता खोज्छु,
अखण्डता भित्र एकताको शक्ति खोछु  म ।
तर परिदृश्यमा चकनाचुर, अनेकता र शक्तिहीन
अनि लाचार भुमी झोक्राएको दृश्य देख्छु ।
यो के भएको हो अचम्भित हुन्छु ।
खै म उस्तो कि मेरो ऐना उस्तो
म असमञ्जस्यमा पर्छु ।
नेपालको स्वच्छ राजनैतिक मैदानमा,
सुन्दर बहर जस्ता नहर युबाहरु,
दौडिएको हेर्न खोज्छु ।
देशको स्वाधिनता र अखण्डताका लागि,
आफ्नै रगत बहाउन सक्ने जोश र होस भएका,
राज नेताहरुको उदय हेर्न चाहान्छु ।
तर परिदृश्यमा भने,
बुढा र अशक्त गोरुहरुले 
त्यो मैदान पुरै ढाकेको देख्छु ।
स्वाधिनताको नारा भित्र बिखण्डन बोकेर,
बाघको खोलमा स्यालको हुईयाँ गर्नेहरुको,
निर्लज्ज जमात सल्बलाएको देख्छु ।
उफ ! यो ऐना उस्तो हो कि म उस्तो हो, 
म रनभुल्ल हुन्छु ।
देशको बाग्डोर हाँक्ने अनुहार भित्र,
दृष्टिकोण, साहस र देशको माया पढ्न खोज्छु,
योजना तर्जुमाका मिसिलहरु, 
सिंह दरवार भित्र हैन, 
कार्यान्वयनको चटारो 
देशका दूर -दरार तिर हेर्न चाहान्छु ।
स्वस्थ र बिचारवान नेतृत्व हेर्न चाहान्छु ।
तर ऐनाको परिदृश्यमा भने,
त्यस्को ठीक उल्टो सदा झैं हुने गर्छ ।
देश हाँक्नेको अनुहारमा दासता झल्कन्छ ।
दृष्टीकोण हीन, बिचार शुन्यता र लाचारी टल्कन्छ ।
बेला बेलामा आउने बाढी पैरोले माटो बगाए जस्तै, 
स्वार्थका लागि हुने गरेका तथाकथित आन्दोलनले,
राष्टृयता र समृद्धी पनि बगाई रहेको देखिन्छ ।
कहिले काहीँ त लाग्छ, 
यो ऐना नै उल्टाई दिउँ ।
ऐना उल्टो भएर पो,
परिदृश्य उल्टा देखिएका हुन कि ?
साह्रै ठुलो जन बलले, 
लामो प्रतीक्षा र धैर्यता पछि,
खडा गरिएको यो ऐना,
सिति मीती उल्टाउन गाह्रो छ ।
तर हरेक गाह्रो काम संभब पनि छ ।
हामी एक पटक फेरि, 
नथाक्ने गरि जुर्मुराउनु पर्छ ।
हातमा हात र काँधमा काँध राखेर,
होस्टेमा हैंसे मिलाउँदै,
त्यो उल्टो देखिने ऐना लाई,
जुरुक्क उखेल्नु पर्छ ।
अनि अर्को नयाँ र ठूलो ऐना गाड्नु पर्छ ।
त्यो ऐनामा चैं उल्टो परिदृश्य,
कहिलै न देखियोस ।
मेची देखि काली सम्म र,
हिमाल देखि तराई सम्मका,
सम्पुर्ण अनुहारहरु अटाउन सकोस ।
त्यो ऐनाको तेज यस्तो होस कि,
जस्का अगाडि अहिलेको जस्तो,
अबान्छित अनुहारहरु धर्मराओस ।
कुटील मन बोक्ने हरुको,
काहाली लाग्ने गरि सातो उडाओस ।
अबको मेरो ऐना यस्तो होस,
जस्मा जे हेर्न खोजिन्छ, त्यस्तै देखियोस ।
हेर्न खोजेको सबै ठीक ठीक देखियोस
*********************************************