कृषि

आधुनिक कृषि बजार केन्द्र निर्माण भएपछि व्यापारीहरु मख्ख

दाङ । तुलसीपुर उपमहानगरपालिका–१५ धम्कापुरकी ४२ वर्षीया स्यानी चौधरी निकै खुशी हुँदै तरकारी बेच्दै थिइन् । केही दिन पहिले तुलसीपुर बजारको बाहिनी चोकमा सडक किनारामा बसेर तरकारी बेच्ने चौधरी आजदेखि तुलसीपुरमा निर्माण सम्पन्न भएको आधुनिक तरकारी बजार केन्द्रमा बसेर तरकारी बेच्न पाउँदा आफू निकै खुशी भएको उनले बताइन ।

वर्षौंदेखि सडकका छेउ, किनारामा बसेर तरकारी बेच्ने त कहिले छिटुवामा तरकारी बोकेर घरघरमा घामपानीका बेवास्ता गरी जानु पर्दथ्यो । त्यस्तै अँध्यारोमा सडक किनारामा बस्दा गाडीले किच्छन् कि भन्ने डर हुन्थ्यो, कतियपले पसल अगाडि बस्न दिँदैनौ भनी गाली गर्दथे ।

अब सबै पीडाबाट उनी मुक्त भइन् । यहाँ बसेर तरकारी बेच्न पाउँदा भन्दै आफूले विगतमा भोग्नु परेका पीडा उनले सुनाइन । “अब सजिलो भएको छ, घाम पानीबाट पनि ओत लाग्ने ठाउँ छ, सबै सँगै बसेर तरकारी बेच्न पायौं”, उनले भनिन् । चौधरीले एक बिघा जमीनमा विभिन्न जातका तरकारी खेती गर्दै आएको छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१२ कचेलाकी ३५ वर्षीया ममता चौधरी पनि आज बिहान यहाँको आधुनिक तरकारी बजार केन्द्रमा पुगेर आफूले उत्पादन गरेको आलु बिक्री गर्छिन । उनले पनि सबै किसान एकै ठाउँमा बसेर तरकारी बेच्न पाउँदा सजिलो भएको अनुभव सुनाइन ।

उनले भनिन्, “पहिले हामी छिटुवामा तरकारी बोकेर घरघरमा जान्थ्यौं, अहिले तरकारी लिन घरघरबाट ग्राहकहरु यहाँ आउने गर्नुहुन्छ । हामीलाई चिसोबाट बच्न, तरकारी बिक्री मूल्य थाहा पाउन पनि सजिलो भएको छ ।”

उनी भन्छिन, ‘‘नयाँ ठाउँ भएर होला शुरु शुरुमा अलि अप्ठेरो भयो । तरकारी किन्न ग्राहकहरु आउने सङ्ख्यामा विस्तारै बढ्न थालेको छ । हिजो र आज सबै आलु बिक्री हुँदा खुशी छु ।’’ अझै केही व्यक्ति अटेर गरेर तुलसीपुर बजारका सडकमा तरकारी बेच्ने गरेकाले तिनीहरुलाई पनि सम्झाएर यस ठाउँमा ल्याउन उपमहानगरपालिकाले पहल गर्नुपर्ने उनको सुझाव छ ।

प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको बताउने ममताका सासूससुराको उमेर ढल्कँदै गएको छ । उनीहरुलाई चिसोबाट बचाउनका लागि अहिले आफू तरकारी बेच्न आउने गरेको पनि उनले बताइन ।