साहित्य

मंगलेश डबरालका तीन कविता

भारतीय कवि मंगलेश डबरालको जन्म मे १६, सन् १९४८ मा भारतको उत्तराखण्ड टिहरी गढवालको काफलपानी गाउँमा भएको थियो । उनका कविता कृतिहरु “पहाड पर लालटेन- १९८१”, “घर का रास्ता- १९८८”, “हम जो देखते हैं- १९९५”, “आवाज भी एक जगह है” र “नयें युग में शत्रु” आदि प्रकाशित छन् । उनका दुई गद्यसङ्ग्रह र एक यात्रासङ्ग्रह पनि प्रकाशित छन् ।

उनले “ओमप्रकाश स्मृति सम्मान- १९८२”, “श्रीकान्त वर्मा पुरस्कार- १९८९” र “साहित्य अकादमी पुरस्कार- २०००” सहित अनेक प्रतिष्ठित सम्मान र पुरस्कार पाएका छन् । कवि मंगलेश डबरालका कविताहरु विदेशी भाषाहरूमा पनि अनुवादित छन् ।

प्रस्तुत छ : कवि मंगलेश डबरालको अनुवादित तीन कविताहरू


अभिनय

एउटा गहिरो आत्मविश्वासले भरिएर
बिहान निस्कन्छु घरबाट
कि सारा दिन आश्वस्त रहन सकूँ
एउटा मान्छेसित भेटेर मुस्कुराउँछु
उसले एक्कासी देखी हाल्छ मेरो उदासी
एउटासित झट्ट हात मिलाउँछु
उसले थाह पाइहाल्छ कि म भित्रदेखि अशान्त छु
एउटा साथीको अगाडि मौन बसिदिन्छु
ऊ भन्छ तिमी किन दूब्लो र बिमार देखिन्छौ
जसले मलाई कहिल्यै घरमा देखेनन्
उनीहरु भन्छन्- अरे तपाइँलाई टिभीमा देखेको थिएँ एक दिन ।
बजारहरूमा शब्दहीन डुल्छु
सारा देश डब्बाहरूमा बन्द भइरहेछ
सारा जीवन बिक्रीको निम्ति छ
एउटा नयाँ रङ्गीन किताब छ जुन मेरो कविताको
विरुद्ध आएको हो
जसमा छापिएका सुन्दर अनुहारहरूलाई कुनै कष्ट छैन
ठाउँ ठाउँमा नृत्यका मुद्राहरू छन् विचारको साटोमा
महाशय, एउटा पुरै लामो सिनेमा छ
तपाइँ किनी हाल्नुस र यथेष्ट आनन्द लिनुस् ।

बाँकी जे छ सब अभिनय हो
चारैतिरबाट आवाजहरू आउँदैछन्
मेकअप फेर्नलाई पनि समय छैन
हत्यारा एउटा निर्दोषको लुगा लगाएर आएको छ
ऊ, जसलाई आफूमाथि गर्व थियो
एउटा चाटुकारको आवाजमा बिन्ती गरिरहेको छ
त्रासदी संक्षिप्त लामो प्रहसन हो
हरेकले जसरी पनि झम्टिन चाहन्छ
सर्वश्रेष्ठ अभिनेताको पुरस्कार ।


म चाहन्छु

म चाहन्छु कि छुवाइ बचिरहोस
त्यो चाहिँ होइन जसले कुमलाई पिल्साउँदै
दुष्ट झैँ जान्छ
बरु त्यो जो एउटा अनजान यात्रापछि
धर्तीको कुनै छेउमा पुग्नु जस्तै हुन्छ ।

म चाहन्छु स्वाद बचिरहोस
मीठोपना र तिक्ततादेखि अलग
जसले वस्तुलाई खाँदैन
बरु तिनलाई जोगाएर राख्ने कोसिसको
एउटा नाम हो ।

एउटा सरल वाक्यलाई बचाउनु मेरो लक्ष्य हो
जस्तै यो कि– हामी मानिस हौँ
म चाहन्छु, यस वाक्यको सत्यता बचिरहोस्
सडकमा जुन नारा सुनिँदै छ
त्यो बचिरहोस् आफ्नो अर्थसहित
म चाहन्छु कि निराशा बचिरहोस्
जसले फेरि एउटा आशा
जन्माउँछ आफ्नो लागि
शब्दहरू बचुन्
जो चराहरुझैँ कहिल्यै पकडाउमा पर्दैनन्
मायामा केटाकेटीपन बचिरहोस्
कविहरुमा बचिरहोस् थोरै लाज/शरम ।


कवितातिर

ठाउँ ठाउँमा छरपष्ट थिए घरका चिन्ताहरू
सफा देखिन्थे भित्ताहरू
एउटा चिजबाट निस्कन्थ्यो कुनै अर्को चिजको गन्ध
थुप्रै कुनाहरू थिए जहाँ कहिल्यै कोही गएको थिएन
जतिखेर हातबाट खसिजान्थ्यो
कुनै गिलास या चम्चा
घरका मानिसहरू कवितातिर हेर्थे धेरै आसले
कविता रोटी र चिसो पानीको घूँट जस्तै
माया र निन्द्रा जस्तै कविता ।

म मुस्कुराउँथें
भन्थे कति सुन्दर घर छ
शब्दहरू भकभकाउँथे
विम्बहरू दिमागमा पुतली झैँ घुम्थे
उनीहरू सुन्थे एकोहोरो
कसरी म लुकाउँदैथें
कविताका समस्याहरू ।


अनुवाद : कवि चन्द्र गुरुङ