पत्रपत्रिका

पर्यावरणको असरलाई वेवास्ता गर्दै गोकर्णमा ४८ कोठाको भवन र ४ सयजना क्षमताको सभाहल बनाउदै यती

काठमाडौं । पर्यावरणलाई समेत असर गर्ने गरी गोकर्णमा ४८ कोठाको भवन र चार सयजना क्षमताको सभाहल बनाउने यती होल्डिङ्सको तयारी छ । विनाप्रतिस्पर्धा थप २५ वर्षका लागि गोकर्णको २९७१ रोपनी जग्गा पाएको यतीले जंगलभित्र भव्य संरचना बनाउने प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरिसकेको छ, नेपाल ट्रस्ट र यतीबीच सम्झौता हुन मात्र बाँकी छ ।

तत्कालीन राजा वीरेन्द्रले दरबारको नाममा रहेको सो जग्गा सन् १९९५ मा सिंगापुरको एमएमसुविर ब्रदर्स प्रालिलाई लिजमा दिएका थिए । तर, सिंगापुरे कम्पनीले यती होल्डिङ्सलाई सब–लिजमा दिएको थियो । त्यसैले कम्पनीबाट ०६७ मा सब–लिजमा जग्गा लिएको यती होल्डिङ्सले अहिले पूर्ण हकदारको हैसियत प्रस्तुत गरेको छ । जसलाई सरकारले स्वीकार गरेको छ ।

सिंगापुरे कम्पनीसँग ३० वर्षका लागि भएको सम्झौता सकिन पाँच वर्ष बाँकी रहँदा सरकारले गोकर्ण रिसोर्ट २५ वर्षका लागि यती होल्डिङ्सलाई दिने निर्णय गरेको छ । पाँच वर्षपछि नयाँ प्रक्रियाबाट लिजमा दिँदा सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा गराउनुपर्ने भएकाले त्यसबाट बच्न सरकारले अहिले नै यतीलाई जिम्मा दिएको हो ।

अहिले नै रिसोर्टभित्र प्रशस्त संरचना छन्, ६ वटा त रेस्टुरेन्ट नै छन् । रिसोर्टमा एक सय दुई कोठा छन् । जसमा गोकर्ण स्विट १, जुनियर स्विट ५, क्लब रुम १०, डिलक्स रुम ६८ र भिल्ला रुम १८ छन् । रिसोर्टमा एभरेस्ट बार, थाई र चाइनिज क्लब हाउससमेत छ । त्यसमा पनि संरचना थप्न थालिएको छ । ‘यतीले ठूलो हल र भवनका लागि २९ करोड रुपैयाँ लगानी गर्ने प्रस्तावमा उल्लेख गरिएको छ,’ मन्त्रिपरिषद् स्रोतले भन्यो ।

नयाँ सम्झौताले गोकर्णको पर्यावरणलाई नष्ट गर्न सक्नेतर्फ कसैको ध्यान नगएको देखिन्छ । अहिले नै गल्फ तथा अन्य गतिविधिले चराचुरुंगी तथा वन्यजन्तुलाई असर गरिरहेका वेला थप संरचनाले गोकर्ण पर्यावरणीय होइन, व्यावसायिक हब हुनेछ ।

नेपाल ट्रस्टका सूचना अधिकारी अमृत महर्जन यती समूहले निवेदन दिएपछि अध्ययनका लागि ट्रस्टले तीन सदस्यीय समिति गठन गरेको र समितिको सुझाबअनुसार मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको बताउँछन् । ट्रस्टका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा सञ्चालक समितिका सदस्यद्वय सीताराम सापकोटा र प्रवीणराज दाहाल सदस्य थिए ।

तर, मन्त्रिपरिषद्ले गरेका निर्णयहरू आफ्नो जानकारीमा नभएको महर्जन बताउँछन् । गोकर्णमा नेपाल ट्रस्टको ३९ सय ७१ रोपनी जग्गा छ । यतीले सम्पूर्ण जग्गा मागेको थियो । त्यसो भएमा थप एक सय भिल्ला बनाउने पनि उसको तयारी थियो ।

सरकारले २९ सय ७१ रोपनी जग्गा दिएर भवन तथा सभाहल बनाउन अनुमति दिने निर्णय गरेको छ । सरकारले नेपाल ट्रस्टको जग्गा यतीलाई दिएको विषयमा मिडियामा खरो आलोचना भएपछि निर्णय सच्याउनुको सट्टा नेपाल ट्रस्टको कार्यालयमा आगन्तुकलाई कडाइ गरिएको छ । ट्रस्टको कार्यालयमा जाने पत्रकारलाई क्यामेरा र मोबाइल भित्र लग्न बन्देज लगाइएको छ ।

                                                                                                                      नयाँ पत्रिकाबाट लिएको