प्रवास

माघ ४ र ५ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको बैठक बस्दै

काठमाडौं । संघको समिती र कार्यदलको विभाजन साथै आगामि कार्ययोजनालाई अन्तिप रुप दिन गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको बैठक बस्ने भएको छ ।

आगामि माघ ४ र ५ गते पोखरामा बैठक बस्ने अन्तराष्ट्रिय कार्यकारीको सचिवालयको विद्युतिय बैठकको निर्णय छ । दुई दिनसम्म पोखरामा चल्ने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान तोक्ने अनुमान गरिएको छ ।

यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सचिवालयको विद्युतिय बैठकले संघको काम कारवाही र लेखा प्रणालीलाई चुस्त र पारदर्शी बनाउने र संघको विद्युतिय सूचना प्रणालीको सुरक्षा सम्बन्धित विशिष्टिकृत कंपनीबाट परिक्षण गराउने समेत निर्णय गरेको छ ।

साथै उक्त बैठकमा ग्रिसको पुरानो राष्ट्रिय समन्वय परिषद्लाई तदर्थ समितिका रुपमा कायम गर्दै क्षेत्रीय संयोजक र उपसंयोजकहरुको रहोवरमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन गर्न अनुमति दिने निर्णय समेत गरेको छ ।

बैठकले विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुमा देखिएका समस्या समाधानका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकमा संघको मानार्थ परिषद्का सदस्यहरुको मनोनयन बारे व्यापक छलफल भएको थियो र मानार्थ परिषद्लाई पोखरामा आयोजना गरिने अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकबाट अन्तिम रुप दिने निर्णय गरेको छ ।

बैठकले विभागिय प्रमुख उपाध्यक्षहरुलाई आफ्नो कार्य क्षेत्रको आगामी योजना तयार पार्न निर्देशन समेत दिएको छ ।