कर्णाली प्रदेश

प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. थापा ल्याउने तयारी

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर) मा प्रतिष्ठानका डा. निरेश थापालाई ल्याउने तयारी भएको छ । प्रतिष्ठान जुम्लाको मेडिकल निर्देशकको जिम्मेवारी सम्हालि सकेका डा. थापाको कार्यसम्पादन शैलीलाई मूल्याङ्कन गर्दै यसअघि नै प्रतिष्ठानले उनलाई शिक्षाध्यक्ष पदमा नियुक्ति गर्ने आन्तरिक गृहकार्य अघि बढाएको थियो ।

निवर्तमान शिक्षाध्यक्ष डा. धर्मराज श्रेष्ठको कार्यवधि जेठ २५ गते सकिएपछि सात महिनादेखि प्रतिष्ठान हालसम्म शिक्षाध्यक्षविहीन छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्लेले उक्त पदको नियुक्तिका लागि डा थापा, प्रा. डा. भरतमणि पोखरेल र प्रा. डा. बद्री बडुको नाम सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसमक्ष बिहीबार सिफारिसगरेको थियो । प्रतिष्ठानमा नै योग्य जनशक्ति भएको र कार्यरत जनशक्तिलाई स्थान दिँदा काम गर्ने ऊर्जा मिल्ने भएकाले डा. थापालाई पहिलो नम्बरमा सिफारिस गरिएको उपकुलपति डा. वाग्लेले राससलाई जानकारी दिए ।

उनका अनुसार डा. थापा शिक्षाध्यक्षका पक्का उम्मेदवार  छन् । “प्रतिष्ठान ऐन, २०६८ को दफा २१ को (१) बमोजिम उपकुलपतिबाट सिफारिस हुने तीन जनामा सहकुलपतिले चार वर्षे कार्यकालका लागि एक जना शिक्षाध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ”, उनले भने, “अब केही दिनभित्र सहकुलपतिले शिक्षाध्यक्ष नियुक्ति गरेसँगै प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक गतिविधि सञ्चालनमा सहजता आउनेछ ।”

विशेषगरी चिकित्सा क्षेत्रमा ठूला तथा साना दर्जनौँ शल्यक्रिया गरी कर्णालीको कमजोर स्वास्थ्य अवस्थामा सुधार ल्याएर कर्णालीवासीको मन जितेका डा. थापालाई शिक्षाध्यक्ष बनाउन जुम्ला प्रतिष्ठान परिवारसहित सेवा क्षेत्रका नागरिक तथा जिल्लास्थित सम्पूर्ण सरोकारवालाहरुको एकमत देखिएको छ ।

प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले कर्णालीको भूगोल र यहाँका नागरिकहरुलाई सहज, सुलभ र विश्वसनीय स्वास्थ्य सेवा दिएर मन जितेकोले पनि शिक्षाध्यक्षमा डा. थापाको सुनिश्चितता बढेको बताए । “यो पदका लागि उहाँ ऊर्जाशील, मेहनती, लगनशील र योग्य उम्मेदवार हुनुहुन्छ”, रजिष्ट्रार काफ्लेले भने, “कार्यरतलाई नै काम गर्ने स्थान दिए त्यसले व्यक्ति, संस्था र समाज सबैलाई हित हुन्छ ।”

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख तथा प्रतिष्ठानका सिनेट सदस्य लालबहादुर सार्कीले प्रतिष्ठानमा रहेर कर्णालीका नागरिकहरुको स्वास्थ्यमा दिल दिएर काम गर्ने डा. थापाको जिम्मेवारी बढाउने प्रतिष्ठानको योजना प्रशंसनीय रहेको बताए । “डा. थापा प्रतिष्ठानका संस्थापक डाक्टर जस्तै नै  छन् । उनको विश्वास र कामले प्रतिष्ठानको उचाइ बढेको छ”, प्रमुख सार्कीले भने, “यहाँको स्वास्थ्य विकासमा सघाउन कर्णालीलाई माया गर्ने व्यक्तित्वलाई प्रतिष्ठानले अघि सानुपर्दछ ।”

डा. थापाको योगदानलाई मध्यनजर गर्दै उहाँलाई शिक्षाध्यक्ष बनाउन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सकारात्मक देखिएको छ । कार्यरतलाई स्थान दिँदा प्रोत्साहन हुने र आर्थिक भारसमेत कम पर्ने भन्दै उनले काठमाडौँमा बसेर कर्णाली दोहन गर्ने संस्कार र पात्रलाई पूर्ण निरुत्साहित पार्न यहाँका नागरिकको स्वास्थ्य क्षेत्रमा जीवन समर्पण गर्ने व्यक्तिलाई सो पदमा ल्याउन जोड दिइएको उनले बताए ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रतिष्ठान पहल समितिका संयोजक नरेश भण्डारी र पूर्वपर्यटन राज्यमन्त्री एवं प्रतिष्ठानका सहसंयोजक बलबहादुर महतसमेत डा थापालाई शिक्षाध्यक्ष बनाउँदा प्रतिष्ठानको विकासमा सहयोग पुग्ने बताउँदै आएको छ । जुम्लाका युवा मनोज बुढाथोकी मगरले डा. थापा योग्य र समर्पित भएकाले उनको शिक्षाध्यक्ष नियुक्तिले कर्णालीवासीलाई लाभ हुने तर्क गरे ।

को हुन् डा. थापा ?

सैनामैना–६ रुपन्देही निवासी ४० वर्षीय डा निरेश थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका एशोसियट प्रोफेसर छन् । उनले सन् (२०१५–२०१९) चीनको उहान विश्वविद्यालयबाट गाईनोकोलोजी, अन्कोलोजीमा विद्यावारिधि गरेको छ ।

क्रिश्चियन मेडिकल कलेज भेलोर भारतबाट सन् २०१२–२०१४ डिस्ट्यान्स फेलोसिप इन डाइबेटिज म्यानेजमेन्ट, सन् २००९–०१२ मा त्रिभुवन विश्वविद्यालयबाट एमडीजिपी र चीनकै उहान विश्वविद्यालयबाट सन् २०००–२००६ मा उनले एमबिबिएस गरेको थियो । आर्थिक वर्ष २०७१/०७२ देखि डा थापा प्रतिष्ठानमा कार्यरत छन् ।