खेलकुद

हरेक युवाले खेलमा सहभागी हुन आवश्यक : मन्त्री मगर

ललितपुर । ललितपुर महानगरपालिका–२४ धापाखेलमा प्रथम प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । नागदह तेक्वान्दो डोजाङले आयोजना गरेको उक्त खेल शनिबारसम्म चल्ने छ ।

प्रतियोगिताको उद्घाटन गर्दै खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले हरेक युवाले खेलमा सहभागी हुन आवश्यक रहेको बताउँदै १३औं दक्षिण एशियाली खेलकूद (साग) का खेलाडीले देशको गरिमा उच्च बनाएको विचार राखिन् । डोजाङका प्रमुख सल्लाहकार हरिशरण गिरीले सो प्रतियोगितामा बचेको रकम सामाजिक काममा खर्च गरिने छ भनिन् । यसैगरी वडा नं २४ का वडाध्यक्ष दिनेश कार्कीले खेलकूद स्वास्थ्यका लागि अपरिहार्य रहेको बताइन ।

नेपाल तेक्वान्दो सङ्घका वरिष्ठ उपाध्यक्ष भरत महर्जनले खेलले जुनसुकै व्यक्तिलाई आर्थिक तथा सामाजिक रुपमा सफल बनाउने धारणा राखे । डोजाङका मुख्य प्रशिक्षक कविराज मालीले यस खेलमा १५ जिल्लाका खेलाडीेले भाग लिएका, २२ केजी तौल मुनिदेखि ८० केजी तौलका ३१ डोजाङका ४५० खेलाडी रहेका बताइन । उनले भनिन्, “प्रथम टिमलाई रु ५० हजार, दोस्रो टिमलाई रु ३० हजार र तेस्रो टिमलाई रु २० हजार पुरस्कार राखी प्रदान गर्ने भएका छौं ।”

डोजाङले नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ, नागदह जाऔं, आन्तरिक तथा बाह्य पर्यटक बढाऔं भन्ने उद्देश्यसाथ प्रतियोगिताको शुरुआत गरेको हो । यसमा ‘बेस्ट फाइटर’ उपाधि पाउने एक महिला र एक पुरुषलाई रु पाँच हजार नगदले सम्मान गरिने बताइएको छ । सो अवसरमा सागमा पुम्सेमा सफल खेलाडी शिशिर श्रेष्ठलाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरियो ।