आर्थिक

बालविकास केन्द्रप्रति बढ्दो आकर्षणः सिद्धार्थ बैंकद्वारा आर्थिक सहयोग

बलेवा । बागलुङ सदरमुकामस्थित विद्यामन्दिर बालविकास केन्द्रलाई सिद्धार्थ बैंक बागलुङले आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बालविकास केन्द्रको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने उद्देश्यले नगद रु २० हजार प्रदान गरेको हो ।

सामुदायिक विद्यालयमा सञ्चालित बालविकास केन्द्रमा आउने बालबालिकालाई आवश्यक सामग्री खरिदको लागि प्रदान गरिएको नगद सिद्धार्थ बैंक बागलुङ शाखाका शाखा प्रमुख सुजित भारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारी र प्रधानाध्यापक शान्तमणि ढकाललाई हस्तान्तरण गरेका हुन् ।

विद्यालय शिक्षाको महत्वपूर्ण आधार बाल कक्षाको गुणस्तर सुधारले मात्र शिक्षाको समग्र विकासमा सहयोग पुग्ने निष्कर्षसहित विद्यामन्दिर माविका पूर्वविद्यार्थीले बालविकास केन्द्रको सुधारमा सङ्गठित भएर काम गर्दै आएका छन् । जिल्ला सदरमुकाममा बसोबास गर्दै आएका मजदूर, ठेला व्यापारी, मुस्लिम अभिभावकका अधिकांश बालबालिका अध्ययन गर्ने केन्द्रमा निःशुल्क खाजा वितरण हुन थालेपछि विपन्न विद्यार्थीको आकर्षण बढ्दै छ ।

जिल्ला सदरमुकाममा रहेका महँगा मन्टेश्वरी तथा बोर्डिङ स्कूलमा पठाउन नसक्ने अभिभावक आफ्ना छोराछोरीलाई निःशुल्क खाजासहितको शिक्षा प्रदान गर्न थालेपछि सामुदायिक विद्यालयतर्फ आकर्षण बढेको पूर्वविद्यार्थी तथा बालकक्षा सुधारका अभियन्ता मुकेशचन्द्र राजभण्डारीले बताएका छन् ।

“विपन्न परिवारका छोराछोरी जसले खाजा ल्याएर विद्यालय आउन सक्दैनन्, उनैलाई लक्षित गरी निःशुल्क खाजा अभियान ल्याएका हौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले भने, “भोको पेटमा अध्ययन गर्दा शैक्षिक गुणस्तर वृद्धि गर्न सकिँदैन भन्ने सोचका साथ निःशुल्क खाजा अभियान शुरु गरेका हौँ ।”

विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा ख्याति प्राप्त पूर्वविद्यार्थी तथा शिक्षाप्रेमीबाट सहयोग सङ्कलन गरी निःशुल्क खाजा वितरण गर्दै आएको उनले बताएका छन् । बालविकास केन्द्रमा अध्ययनरत २५ विद्यार्थीलाई दिनको एक पटक घरेलु खाजा प्रदान गरिँदै आएको छ ।

खाजा वितरणको एक हप्ते सूचीनै तयार पारीे अण्डा, चना, दूध र लिटो मिलाएर खुवाउने गरेको केन्द्रले जनाएको छ । सामुदायिक विद्यालयले गरिब विपन्न परिवारका बालबालिकाप्रति गरेको सहयोग र लगानीमा बैंकले भविष्यमा थप सहयोग गर्ने शाखा प्रमुख भारीले प्रतिबद्धता व्यक्त गरेका थिए ।